डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उनलाई डीनमा नियुक्त गरेको हो।
बझाङको छविसपाथिभेरा गाउँपालिका–५ थलाराका डा. धामीले चिकित्सा शिक्षा, अनुसन्धान, शैक्षिक नेतृत्व तथा सार्वजनिक प्रशासनका क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनले क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका छन् भने सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) समेत अध्ययन गरेका छन्।
डा. धामीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न समयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
डा. धामीको प्राज्ञिक रुचि चिकित्सा शिक्षा, औषधिको तर्कसंगत प्रयोग, औषधि सुरक्षा, एन्टिमाइक्रोबियल प्रतिरोध तथा स्वास्थ्य अनुसन्धानमा केन्द्रित छ। उनको नियुक्तिसँगै डडेल्धुरालाई स्वास्थ्य शिक्षा तथा अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ।
डडेल्धुरा अस्पतालसँगको सहकार्य सुदृढ गर्दै गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन, दक्ष शिक्षकको व्यवस्थापन, आधुनिक पूर्वाधार विकास तथा स्थानीय स्वास्थ्य समस्यामा आधारित अनुसन्धानलाई प्राथमिकता दिने योजना छ। गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा नवप्रवर्तनलाई एकीकृत गरी डडेल्धुरालाई क्षेत्रीय स्वास्थ्य शिक्षा तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
डा. धामीको शैक्षिक तथा प्रशासनिक अनुभव, पारदर्शी सुशासन र सामूहिक प्रयासबाट संकायको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।









