

डडेल्धुरा – सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेल्धुराले डडेल्धुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदमा करार सेवामार्फत पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।
सङ्कायले सोमबार पहिलोपटक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट विभिन्न विषयका शैक्षिक पदमा आवेदन मागेको हो।
सूचनाअनुसार सह–प्राध्यापक पदका लागि फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजी विषयमा एक–एक जना माग गरिएको छ। यस्तै, उपप्राध्यापक पदअन्तर्गत माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, एनाटोमी र पब्लिक हेल्थ विषयमा एक–एक जनाका लागि आवेदन खुलाइएको छ।
त्यसैगरी नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा ११ जना प्रशिक्षक पदका लागि समेत आवेदन माग गरिएको छ।
इच्छुक आवेदकले २०८३ असोज १२ गतेसम्म कार्यालय समयभित्र स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालयमा स्वयं उपस्थित भएर वा अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। दरखास्त फाराम सङ्कायको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
आवेदनका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर तोकिएको छ। उक्त रकम सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन कार्यालय डडेल्धुराको नाममा नबिल बैंकमा रहेको खाता नं. २६८०१०१७५०००७८ मा जम्मा गरी सोको भौचर पेस गर्नुपर्नेछ।
दरखास्तसँग प्रवेशिकादेखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो, नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण दुई प्रति संलग्न गर्नुपर्नेछ।
लिखित परीक्षाको मिति पछि प्रकाशन गरिने सङ्कायले जनाएको छ। सम्पर्क मिति भने असोज १५ गते तोकिएको छ।




