

काठमाडौँ – भोटेकोशी बाढीपछि पहिचान नखुलेका शव र मानव अंगको सनाखत गर्न एआई प्रविधिसँगै डीएनए परीक्षणलाई तीव्रता दिइएको छ।
बेपत्ताको तस्बिर र फेला परेका शवको अनुहार मिलान गर्न कम्प्युटर भिजन तथा डिप लर्निङमा आधारित ‘फेसट्याग’ प्रविधि प्रयोगमा ल्याइएको हो। यसले सम्भावित ५–१० वटा मिल्दो तस्बिर देखाउने र परिवार तथा सम्बन्धित निकायले थप पहिचान गर्ने व्यवस्था छ।
फेसट्यागमा हालसम्म करिब ५ सय बेपत्ताको विवरण दर्ता भएको र ९० भन्दा कम शवको सम्भावित पहिचान गर्न सकिएको यसमा संलग्न समीर पन्थीले बताए। उनका अनुसार पहिचान भएका शव परिवारले बुझिसकेका छन्।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३ सय ५८ शव तथा मानव अंग फेला परेका छन्। त्यसमध्ये ४ सय ९८ आंशिक मानव अंग छन् भने १ सय २ जनाको मात्रै पहिचान खुलेको छ। बाँकी १ हजार २ सय ५६ शव तथा अंगको सनाखत हुन बाँकी छ।
क्षतविक्षत शवमा अनुहारका आधारमा पहिचान गर्न कठिन हुने भएकाले प्रहरीले डीएनए परीक्षणलाई मुख्य वैज्ञानिक आधार बनाएको छ। हालसम्म मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी २ हजार ६ सय ७८ डीएनए नमुना संकलन गरिएको छ।
प्रहरीका अनुसार एआईले सम्भावित पहिचान खोज्न सहयोग गरे पनि अन्तिम पुष्टि भने डीएनए परीक्षणबाट गरिनेछ।



