

बाजुरा – बाजुरामा बाटोमै प्रसव पीडामा परेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको समयमै भएको तत्परता र स्थानीयको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ ।
खप्तडछेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक प्रसव पीडामा परेकी थिइन् । सडकमा पीडाले छट्पटाइरहेकी उनलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ स्वास्थ्यकर्मी हस्त खडायत आवश्यक प्रसूति सामग्री तथा औषधिसहित घटनास्थलतर्फ पुगेका थिए । सोही समयमा मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोगका लागि पुगेकी थिइन् ।
स्वास्थ्यकर्मी हस्त खडायत, निशा रोकाया, ईश्वरी केसीलगायत स्वास्थ्यकर्मी तथा स्थानीयको सहयोगमा सडककै छेउमा आवश्यक प्रसूति सेवा प्रदान गरिएको खडायतले जानकारी दिए। समयमै प्रसूति सेवा उपलब्ध गराइएपछि कमला बोगटीले सुरक्षित रूपमा बच्चा जन्माएकी हुन् ।
स्वास्थ्यकर्मीको सक्रियता र स्थानीयको सहयोगका कारण आमा र नवजात शिशु दुवैको ज्यान जोगिएको बताइएको छ । हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र उनीहरूलाई बाजुरा स्वास्थ्य चौकी टाँटेमा राखेर स्वास्थ्य निगरानीमा राखिएको छ ।
बर्खायाममा सडक बिग्रिने, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्म पुग्न लामो समय लाग्ने समस्याका कारण बाजुराका गर्भवती महिलाले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी हस्त खडायतले बताए ।
समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा कतिपय महिलाले बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । यसपटक स्वास्थ्यकर्मीको तत्परता र स्थानीयको सहयोगले सम्भावित दुर्घटना टरे पनि दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गर्न सहज यातायात र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।



