

काठमाडौं – अग्न्याशय(प्यानक्रियाज)को क्यान्सर उपचारमा दशकौँदेखि चुनौती बन्दै आएको प्रोटिनलाई लक्षित गर्ने नयाँ औषधिलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासनले स्वीकृति दिएको छ। उन्नत अवस्थामा पुगेको अग्न्याशय क्यान्सरका बिरामीका लागि यो औषधिलाई महत्वपूर्ण उपचार विकल्पका रूपमा हेरिएको छ।
‘डाराक्सोन्रासिब’ नामक यो औषधिले क्यान्सरको कोषिकालाई तीव्र रूपमा बढ्न र फैलिन सहयोग गर्ने परिवर्तित प्रोटिनको गतिविधि रोक्ने काम गर्छ। औषधि ‘रेभोल्युसन मेडिसिन्स’ कम्पनीले ‘रासोनक्यू’ नामबाट बजारमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार एक महिनाका लागि आवश्यक औषधिको मूल्य करिब ३९ हजार ८ सय अमेरिकी डलर पर्नेछ।
औषधिको प्रभावकारिता परीक्षणमा यसले अन्य औषधि उपचारको तुलनामा बिरामीको बाँच्ने अवधि झण्डै दोब्बर बनाएको पाइएको छ। यसअघि गरिएको उपचारले काम गर्न छाडिसकेको र क्यान्सर शरीरका अन्य भागमा फैलिएका ५०० बिरामीलाई सहभागी गराएर गरिएको अध्ययनमा उनीहरूलाई नयाँ औषधि वा थप क्यान्सर उपचारमध्ये एक दिइएको थियो।
अध्ययनमा नयाँ औषधि सेवन गर्ने बिरामी औसतमा १३ दशमलव २ महिना बाँचेका थिए। थप क्यान्सर उपचार लिएका बिरामीको औसत बाँच्ने अवधि भने ६ दशमलव ७ महिना रहेको थियो।
नयाँ औषधि प्रयोग गर्ने केही बिरामीमा छालामा दाना आउने, मुखमा घाउ हुने, पखाला लाग्ने तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या देखिएका थिए। यद्यपि गम्भीर प्रतिकूल असर तुलनात्मक रूपमा कम रहेको अध्ययनले देखाएको छ।
चार दशकदेखि चुनौती बनेको प्रोटिनमा सफलता
अग्न्याशयको क्यान्सरका अधिकांश बिरामीमा ‘रास’ नामक प्रोटिन परिवारसँग सम्बन्धित जीनमा परिवर्तन हुने गर्छ। विशेषगरी ‘क्रास’ नामक जीनमा हुने परिवर्तनले क्यान्सरका कोषिका बढाउन महत्वपूर्ण भूमिका खेल्छ।
वैज्ञानिकहरूले करिब ४० वर्षदेखि यस प्रोटिनलाई औषधिमार्फत नियन्त्रण गर्न कठिन मान्दै आएका थिए। नयाँ औषधिले यही प्रोटिनलाई लक्षित गरेर काम गर्ने भएकाले क्यान्सर उपचारको क्षेत्रमा यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अमेरिकास्थित फ्रेड हच क्यान्सर केन्द्रका चिकित्सक एन्ड्र्यु कोभेलरले नयाँ औषधिले क्यान्सर पूर्ण रूपमा निको पार्ने नभए पनि उपचारमा उल्लेखनीय सुधार ल्याउन सक्ने बताएका छन्।
अग्न्याशयको क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गर्न कठिन हुने भएकाले धेरैजसो बिरामीमा रोग पत्ता लाग्दासम्म अन्य अंगमा फैलिसकेको हुन्छ। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार अमेरिकामा यस वर्ष करिब ६७ हजार नयाँ अग्न्याशय क्यान्सरका बिरामी थपिने अनुमान छ। यसैगरी ५२ हजारभन्दा बढीको यो रोगका कारण मृत्यु हुने अनुमान गरिएको छ। अग्न्याशय क्यान्सरका बिरामीको पाँच वर्षको समग्र बाँच्ने दर करिब १३ प्रतिशत मात्रै छ।
पूर्वसिनेटरले पनि लिए नयाँ औषधि
अमेरिकाका पूर्वसिनेटर बेन सासे पनि नयाँ औषधिको परीक्षणमा सहभागी भएका थिए। उनलाई गत डिसेम्बरमा चौथो चरणको अग्न्याशय क्यान्सर भएको पत्ता लागेको थियो।
सासेले उपचारपछि चार महिनाको अवधिमा आफ्नो शरीरमा रहेको क्यान्सरको गाँठोको आकार ७६ प्रतिशत घटेको र पीडा पनि निकै कम भएको बताएका थिए। रोग पत्ता लाग्दा चिकित्सकहरूले उनलाई तीनदेखि चार महिनाको जीवन प्रत्याशा रहेको बताएका थिए।
अमेरिकाको खाद्य तथा औषधि प्रशासनले निर्धारित समयभन्दा छ महिनाभन्दा बढी अगाडि नै औषधिलाई स्वीकृति दिएको जनाएको छ। बिरामीलाई प्रभावकारी उपचार सकेसम्म छिटो उपलब्ध गराउनु आफ्नो प्रमुख दायित्व भएको प्रशासनका कार्यवाहक आयुक्त काइल डायमेन्टासले बताएका छन्।
नयाँ औषधिले क्यान्सरको कोषिकामा हुने परिवर्तित ‘क्रास’ प्रोटिनका विभिन्न प्रकारसँग जोडिएर त्यसको गतिविधि रोक्ने प्रविधि प्रयोग गर्छ। औषधि निर्माता कम्पनीले यही प्रविधिलाई फोक्सो तथा अन्य प्रकारका क्यान्सरमा समेत परीक्षण गरिरहेको जनाएको छ।
चिकित्सक तथा अनुसन्धानकर्ताहरूले अग्न्याशय क्यान्सरमा यो औषधिले देखाएको सफलताले अन्य प्रकारका क्यान्सरका लागि पनि नयाँ उपचार पद्धति विकास गर्ने बाटो खोल्न सक्ने अपेक्षा गरेका छन्।



