

बझाङ- जिल्ला अस्पताल बझाङले शल्यक्रिया सेवामा नयाँ प्रविधि भित्र्याएको छ। अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक प्रविधिबाट पित्तथैली निकाल्ने शल्यक्रिया सफलतापूर्वक गरिएको हो।
मंगलबार गरिएको ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमीपछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापछि कुनै जटिलता नदेखिएपछि बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
यसअघि पित्तथैलीलगायत यस्ता शल्यक्रियाका लागि जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता थियो। ल्याप्रोस्कोपिक सेवा सञ्चालनमा आएपछि बझाङमै आधुनिक तथा कम चिरफारबाट शल्यक्रिया गर्न सकिने भएको अस्पतालको भनाइ छ।
दूरबिन प्रविधिबाट गरिने शल्यक्रियामा ठूलो घाउ बनाउनु नपर्ने भएकाले बिरामीलाई तुलनात्मक रूपमा कम पीडा हुने, अस्पतालमा बस्नुपर्ने अवधि घट्ने र छिटो दैनिक जीवनमा फर्कन सकिने अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताउनुभयो।
पहिलोपटक सेवा सञ्चालनसँगै जिल्लामै थप जटिल प्रकृतिका शल्यक्रिया सेवा विस्तार गर्ने आधार तयार भएको अस्पतालले जनाएको छ। यसबाट उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बिरामीको संख्या घट्नुका साथै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ।
५० शैयामा स्तरोन्नति गर्न माग
यसैबीच जिल्ला अस्पताल बझाङलाई दक्ष जनशक्ति र आवश्यक आधुनिक उपकरणसहित ५० शैयामा स्तरोन्नति गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको छ।
हाल १५ शैयाबाट सञ्चालन भइरहेको अस्पतालमा थप दरबन्दी सिर्जना, भौतिक पूर्वाधार विस्तार तथा सिटी स्क्यान, आईसीयू, एनआईसीयू र डायलाइसिसजस्ता सेवा सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्न माग गरिएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीलाई मागपत्र बुझाउँदै दुर्गम जिल्लाका नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा जिल्लामै उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार आवश्यक रहेको बताए।



