

काठमाडौँ – स्वास्थ्यलाई सक्रिय र शरीरलाई चलायमान राख्न फिजियोथेरापीको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व फिजियोथेरापी दिवस मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ ।
विश्व फिजियोथेरापी संस्थाको पहलमा सन् १९९६ देखि यो दिवस मनाउन थालिएको हो । शारीरिक समस्या भएका व्यक्तिको उपचार तथा पुनःस्थापनासँगै मानिसलाई सक्रिय, स्वस्थ र आत्मनिर्भर जीवन बिताउन फिजियोथेरापीले खेल्ने भूमिकालाई दिवसले उजागर गर्दै आएको छ ।
यस वर्षको दिवसमा हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र नियमित शारीरिक गतिविधिको योगदानलाई मुख्य विषय बनाइएको छ ।
नियमित शारीरिक गतिविधि तथा आवश्यक फिजियोथेरापीले शरीरको गतिशीलता कायम राख्न, शारीरिक क्षमता सुधार गर्न र विभिन्न स्वास्थ्य समस्याबाट हुने असर कम गर्न सहयोग पुर्याउने भएकाले यसको महत्वबारे जनचेतना बढाउन दिवस केन्द्रित छ ।
विश्व फिजियोथेरापी दिवसका अवसरमा विभिन्न मुलुकमा फिजियोथेरापी सेवाको महत्व, शारीरिक सक्रियता र पुनःस्थापनासम्बन्धी जानकारी दिने कार्यक्रम आयोजना गरिन्छ ।
विशेषगरी हृदय रोग, पक्षघातलगायतका स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको पुनःस्थापनामा फिजियोथेरापीको भूमिका महत्वपूर्ण हुने भएकाले यससम्बन्धी जानकारीलाई आम नागरिकसम्म पुर्याउने उद्देश्यले दिवस मनाउने गरिएको छ ।



