

काठमाडौँ – रसुवा, नुवाकोट र धादिङमा बाढीले स्वास्थ्य संरचनामा क्षति पुर्याएपछि सम्भावित सरुवा रोगको जोखिम नियन्त्रण तथा स्वास्थ्य सेवा पुनःस्थापनाका लागि सरकारी प्रतिकार्य तीव्र पारिएको छ ।
स्वास्थ्य सेवा विभागको नेतृत्वमा भइरहेको प्रतिकार्यअन्तर्गत क्षतिग्रस्त स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन, खोप अभियान, खानेपानी तथा सरसफाइको निगरानी र मानसिक स्वास्थ्य सेवामा जोड दिइएको छ ।
बाढीका कारण टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रका चार स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य स्वास्थ्य संस्थामा पनि आंशिक क्षति पुगेको विभागले जनाएको छ ।
विपद्पछि उत्पन्न हुन सक्ने दोस्रो जनस्वास्थ्य संकट रोक्न ‘विपद्पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले जानकारी दिए ।
प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन नियमित खोपसँगै खानेपानी र सरसफाइको अवस्थाको अनुगमन भइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा शव व्यवस्थापन तथा प्रभावित क्षेत्रमा किटाणुरहित गर्ने कामसमेत सम्पन्न गरिएको विभागले जनाएको छ ।
हैजाको सम्भावित जोखिमलाई ध्यान दिँदै रसुवामा २१ हजार ६ सय डोज ओरल कोलेरा भ्याक्सिन पुर्याइएको छ । नुवाकोटमा थप ८० हजार मात्रा खोप पठाउने तयारी भइरहेको छ । बाढीका कारण रोकिएका नियमित खोप कार्यक्रम रसुवा, नुवाकोट र धादिङमा पुनः सञ्चालनमा ल्याइएको छ ।
बाढीका कारण प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई समेत प्रतिकार्यको प्राथमिकतामा राखिएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि विभिन्न टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको विभागले जनाएको छ ।
हालसम्म ८ हजार १५९ जनासँग सम्पर्क गरिएको र तीमध्ये ५ हजार ५७३ जनालाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
मनोचिकित्सक, क्लिनिकल साइकोलोजिस्ट तथा मनोपरामर्शदातासहित १४८ भन्दा बढी जनशक्ति काठमाडौँ, भरतपुर, नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । प्रभावित नागरिकलाई चौबीसै घण्टा हेल्पलाइनमार्फत समेत परामर्श र सहयोग उपलब्ध गराइँदै आएको छ ।
स्वास्थ्य सामग्रीतर्फ विभिन्न २५ संस्थाबाट १७ लाख ७२ हजार २६२ एकाइ औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा वितरण भइसकेको छ । केन्द्रीय भण्डारमा थप २९० प्रकारका औषधि सुरक्षित अवस्थामा राखिएको विभागले जनाएको छ ।
स्वास्थ्यसम्बन्धी सूचना र जनचेतना फैलाउन रेडियो, सामाजिक सञ्जाल तथा स्थानीय भाषाको प्रयोग भइरहेको छ । तामाङ भाषासहित स्थानीय भाषामा रोग रोकथाम, सरसफाइ र स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी प्रवाह भइरहेको विभागले जनाएको छ ।
स्वास्थ्य निकायले आमसञ्चारमाध्यमलाई पनि बाढीपछि देखिन सक्ने रोग, सरसफाइ र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक सूचना निरन्तर प्रवाह गर्न आग्रह गरेको छ । साथै, अफवाह फैलिन नदिन तथा बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।



