

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका ७४ जनामध्ये ४८ जना उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि उपचारका लागि अस्पताल ल्याइएका ७४ घाइतेमध्ये ४८ जना स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन्।
हाल अस्पतालमा २५ जना घाइतेको उपचार भइरहेको छ। उपचाररत बिरामीमध्ये दुई जनालाई आईसीयू र दुई जनालाई हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले जानकारी दिए।
अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेमध्ये एक जनाको भने उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्।
यसरी त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना डिस्चार्ज भएका छन्, २५ जनाको उपचार जारी छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।



