

काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो संख्यामा पशुपन्छी बगाएपछि अब मृत पशुपन्छीबाट सङ्क्रामक रोग फैलिन सक्ने जोखिम बढेको छ।
बाढी गएको एक साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा पशुपन्छीका शव तथा भग्नावशेष व्यवस्थापन चुनौतीपूर्ण बनेको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको छ। ठूलो संख्यामा पशुपन्छी बगेकाले उनीहरूको अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्न नसकिए मानव तथा पशु स्वास्थ्यमा थप जोखिम निम्तिन सक्ने चिकित्सकहरूले बताएका छन्।
एसोसिएसनको छ सदस्यीय टोलीले एक सातासम्म बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीका अनुसार विदुर नगरपालिका तथा त्रिशूली आसपासका क्षेत्रमा पशुपालन गर्ने किसानका गोठ र व्यावसायिक फार्महरू बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
प्रारम्भिक विवरणअनुसार बाढीमा पाँच सयभन्दा बढी भैँसी, एक हजार पाँच सय सुँगुर तथा बङ्गुर र करिब एक लाख ५० हजार कुखुरा बगेका छन्। तीमध्ये अधिकांशको जीवित उद्धार सम्भव नभएको नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेले बताउनुभयो।
बाढीपछि सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीमध्ये मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन रहेको पशु चिकित्सकहरूले बताएका छन्। खुला स्थानमा रहेका पशुका शव कुहिँदै जाँदा दुर्गन्धसँगै विभिन्न रोगजन्य जीवाणु तथा सङ्क्रमण फैलिन सक्ने जोखिम हुन्छ।
बाढीको पानीसँगै मिसिएका मृत पशुपन्छी, फोहोर तथा अन्य जैविक पदार्थले खानेपानीका स्रोतसमेत दूषित बनाउन सक्छन्। यस्तो अवस्थामा दूषित पानी तथा वातावरणको सम्पर्कमा आउँदा मानिस र अन्य पशुपन्छीमा विभिन्न रोग फैलिन सक्ने चिकित्सकहरूको भनाइ छ।
नेपाल भेटेरिनरी एसोसिएसनमा कार्यरत डा. सुजाता अधिकारीका अनुसार विपद्का बेला पशु स्वास्थ्यलाई बेवास्ता गर्दा त्यसको असर मानव स्वास्थ्यमा समेत पर्न सक्छ। त्यसैले मृत पशुपन्छीको पहिचान, सुरक्षित व्यवस्थापन र प्रभावित क्षेत्रमा नियमित पशु स्वास्थ्य निगरानी आवश्यक रहेको उहाँले बताउनुभयो।
बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि नदीपारिका केही बस्ती सम्पर्कविहीन बनेका छन्। यसका कारण त्यहाँ रहेका पशुपन्छीलाई उपचार तथा औषधी उपलब्ध गराउन समेत कठिनाइ भएको छ।
औषधी अभाव भएको जानकारी पाएपछि नेपाल भेटेरिनरी एसोसिएसनले जोखिम मोलेर तुइनमार्फत अत्यावश्यक भेटेरिनरी औषधी नदीपारिका प्रभावित क्षेत्रमा पठाएको थियो।
एसोसिएसनले पशु सेवा कार्यालय नुवाकोटलाई औषधी तथा फिड सप्लिमेन्टसमेत उपलब्ध गराएको जनाएको छ।
पशुधन गुमाएका किसानको आर्थिक क्षतिसँगै बाढी प्रभावित क्षेत्रमा पशुजन्य रोग फैलिन नदिन तत्काल निगरानी र व्यवस्थापन आवश्यक देखिएको छ।
पशु चिकित्सकहरूले मृत पशुपन्छीलाई जथाभावी फाल्न नदिई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने, दूषित पानीका स्रोतको संरक्षण गर्नुपर्ने तथा प्रभावित क्षेत्रमा नियमित पशु स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिएका छन्।
बाढीबाट प्रभावित किसानलाई राहतसँगै पशुधन पुनःस्थापना, पशु स्वास्थ्य सेवा र रोग नियन्त्रणका कार्यक्रम एकैसाथ सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।



