

काठमाडौं – भदौ १० गते रसुवा, नुवाकोट, गोरखा र धादिङमा आएको भीषण बाढी तथा पहिरोमा परी घाइते भएका ४४ जनाको काठमाडौंका तीन प्रमुख अस्पतालमा उपचार भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा गरी ४४ जना घाइते उपचाररत छन्। शिक्षण अस्पतालमा २९, ट्रमा सेन्टरमा १२ र वीर अस्पतालमा तीन जना उपचारमा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।
विपद्पछि यी अस्पतालमा उपचारका लागि ल्याइएका अधिकांश घाइते उपचारपछि निको भएर घर फर्किसकेका छन्। जटिल चोटपटक तथा स्वास्थ्य समस्या भएका बिरामीलाई भने अवस्था हेरेर विभिन्न वार्डमा राखी उपचार जारी राखिएको छ।
शिक्षण अस्पतालमा भर्ना भएका ७८ जना घाइतेमध्ये हाल २९ जनाको उपचार भइरहेको छ। अस्पतालका अनुसार उपचाररत बिरामीमा हाडजोर्नी तथा नसा, टाउको, रगत तथा मुटु, छाला र बालरोगसम्बन्धी समस्या देखिएको छ।
केही घाइतेलाई अब्जर्भेसन तथा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा राखिएको छ भने गम्भीर अवस्थाका बिरामीको आईसीयू र न्युरोसर्जरी वार्डमा विशेषज्ञ टोलीबाट उपचार भइरहेको छ। अस्पतालका अनुसार ४४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जना रिफर वा अन्य कारणले उपचारबाट बाहिरिएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा हाल १२ जना घाइते उपचाररत छन्। उनीहरूमा टाउको, पेट, कम्मर, हातखुट्टा, आँखा तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। उपचाररत १२ मध्ये तीन जनालाई एचडीयूमा र नौ जनालाई इमर्जेन्सीसहित अन्य वार्डमा राखिएको छ।
ट्रमा सेन्टरमा भर्ना भएका ५० जनामध्ये ३६ जना उपचारपछि डिस्चार्ज भएका छन्। एक जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै, वीर अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
तीनवटै अस्पतालको तथ्यांकअनुसार विपद्मा घाइते भई काठमाडौं ल्याइएका ८३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।



