

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीले घरबास, खाद्यान्न तथा दैनिक जीवनयापनका सामग्री बगाएपछि प्रभावित परिवारका लागि राहत तथा खाद्य सामग्री तत्काल आवश्यक बनेको छ।
बाढीपछि सरकारसँगै विभिन्न संघसंस्था, निजी क्षेत्र तथा दाताहरूले राहत संकलन र वितरण गरिरहेका छन्। तर राहतका रूपमा खाद्य सामग्री उपलब्ध गराउँदा तत्काल भोक मेटाउने कुरामात्र नभई प्रभावितको स्वास्थ्य र पोषणलाई समेत प्राथमिकतामा राख्न चिकित्सकहरूले सुझाव दिएका छन्।
विपद्पछि राहतमा चाउचाउ, बिस्कुट, चिउराजस्ता तत्काल खान मिल्ने खाद्य सामग्री बढी देखिए पनि यस्ता सामग्रीले केही समयको आवश्यकता पूरा गरे पनि दीर्घकालीन पोषणको आवश्यकता पूरा गर्न नसक्ने चिकित्सकहरूको भनाइ छ।
विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र वृद्धवृद्धाजस्ता संवेदनशील समूहका लागि राहत वितरण गर्दा उनीहरूको उमेर, स्वास्थ्य अवस्था र पोषण आवश्यकतालाई ध्यान दिनुपर्ने देखिएको छ।
फिजिसियन डा. दुर्गा महर्जनका अनुसार विपद्का बेला बालबालिकाको नियमित खानपानमा ठूलो असर पर्न सक्छ। यस्तो अवस्थामा उनीहरूलाई सहज रूपमा खान सकिने, झोलिलो र पोषणयुक्त खाना उपलब्ध गराउन आवश्यक हुन्छ।
फलफूल, हरियो सागपात, गेडागुडी तथा अन्य पौष्टिक खाद्य पदार्थले बालबालिकाको शारीरिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता कायम राख्न सहयोग गर्ने भएकाले यस्ता सामग्रीलाई राहतमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
बाढी तथा अन्य विपद्का कारण बालबालिकामा शारीरिकसँगै मानसिक असरसमेत पर्न सक्ने भएकाले उनीहरूको खानपान र स्वास्थ्यलाई सामान्य अवस्थाभन्दा बढी प्राथमिकता दिनुपर्ने डा. महर्जन बताउँछिन्।
गर्भवती तथा सुत्केरी महिलाका लागि पनि पर्याप्त र पोषणयुक्त खाना आवश्यक हुन्छ। आमाको स्वास्थ्य कमजोर हुँदा त्यसको असर नवजात शिशुको स्वास्थ्यमा समेत पर्न सक्ने भएकाले राहत वितरणमा उनीहरूका लागि आवश्यक खाद्य सामग्री छुट्टै पहिचान गरेर उपलब्ध गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
त्यस्तै, वृद्धवृद्धाका लागि सहज रूपमा पच्ने, पौष्टिक तथा उनीहरूको स्वास्थ्य अवस्थाअनुकूल खाना आवश्यक हुन्छ। त्यसैले सबै प्रभावितलाई एउटै प्रकारको राहत सामग्री वितरण गर्नुभन्दा आवश्यकता र स्वास्थ्य अवस्थाका आधारमा खाद्य सामग्री छनोट गर्नुपर्ने देखिएको छ।
अहिले ठूलो मात्रामा राहत संकलन भइरहेका बेला चाउचाउ, बिस्कुट तथा अन्य जंक फुडमा मात्रै निर्भर हुनुभन्दा दाल, गेडागुडी, चामल, पौष्टिक आहार, फलफूल र उपलब्धताअनुसार हरियो सागपातजस्ता खाद्य सामग्रीलाई प्राथमिकता दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।



