

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दीमा भाइरल ज्वरोको प्रकोप बढेपछि स्थानीय प्रभावित भएका छन्। गाउँका करिब ४० देखि ५० घरधुरीमा पछिल्लो समय ज्वरोसहितका बिरामी बढेका हुन्।
केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले गाउँमा खानेपानी ल्याउने पाइप बगाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको थियो। खानेपानीको नियमित आपूर्ति बन्द भएपछि स्थानीय खोलाको धमिलो पानी पिउन बाध्य भएका थिए।
त्यसपछि गाउँमा बिरामीको संख्या बढ्दै गएको स्थानीयले बताएका छन्। बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, रिङ्गटा लाग्ने र वाकवाकी हुनेजस्ता लक्षण देखिएका छन्।
बिरामी बढेको जानकारी पाएपछि स्वामीकार्तिक खापर गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पठाएको थियो। स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै आवश्यक औषधि वितरण गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पारस शाहीका अनुसार वारिबगर, घट्ट छुद्वरी तथा बालुवा गाउँका बासिन्दा करिब दुई सातादेखि बिरामी हुँदै आएका थिए। स्वास्थ्यकर्मीको टोलीले मंगलबार गाउँ पुगेर करिब ९४ जनाको उपचार गरेको उनले बताए।
‘यहाँका विभिन्न बस्तीमा दुई सातादेखि नागरिक बिरामी थिए। स्वास्थ्य शाखाको टोली त्यहाँ पुगेर करिब ९४ जनाको उपचार गरेको छ,’ शाहीले भने, ‘पालिकाको स्वास्थ्य शाखामा रहेको औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा समेत पठाएका छौँ। अहिले स्वास्थ्यकर्मी घरघरमै पुगेर बिरामीलाई औषधि दिइरहेका छन्।’
स्वास्थ्यकर्मीको उपचारपछि अहिले बिरामीको ज्वरो केही कम हुँदै गएको शाहीले जानकारी दिए। गाउँमा थप बिरामी हुन नदिन स्वास्थ्यकर्मीलाई परिचालन गरी स्वास्थ्य अवस्था निगरानी गर्ने काम भइरहेको छ।
यसैबीच, खानेपानीको अभावलाई तत्काल समाधान गर्न गाउँपालिकाले स्वच्छ खानेपानीको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए। बाढीपहिरोका कारण क्षतिग्रस्त खानेपानी संरचनाका कारण स्थानीयलाई समस्या भएपछि वैकल्पिक व्यवस्थामार्फत सुरक्षित पानी उपलब्ध गराइएको उनले जानकारी दिए।



