

दाङ- गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि दाङका ५२ जना अझै सम्पर्कविहीन रहेका छन्। रोजगारीका सिलसिलामा रसुवा र नुवाकोट पुगेका उनीहरूको अवस्था अज्ञात भएपछि आफन्तहरू खोजीका लागि अस्पतालदेखि प्रशासन कार्यालयसम्म धाउन थालेका छन्।
अस्पतालमा पुगेर आफन्तको अवस्था बुझ्न खोज्दा पनि शवको पहिचान हुन नसक्दा पीडा थपिएको आफन्तहरूले बताएका छन्। कतिपय आफन्तहरू आफ्ना मान्छेको खोजीका लागि दाङबाट चितवन, नुवाकोट र काठमाडौंसम्म पुगेका छन्।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार सम्पर्कविहीन हुनेमा अधिकांश तुलसीपुर उपमहानगरपालिकाका छन्। प्रशासनको विवरणअनुसार तुलसीपुरका ३५ जना, राजपुर गाउँपालिकाका पाँच, लमही नगरपालिकाका तीन, राप्ती गाउँपालिकाका तीन, गढवा गाउँपालिकाका दुई, घोराही उपमहानगरपालिकाका दुई तथा दङ्गीशरण र बबई गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमध्ये अधिकांश रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत थिए। उनीहरू फेवा हाइड्रोपावर, मैलुङ हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, लामटाङखोला हाइड्रोपावर र नुवाकोट हाइड्रोपावरमा काम गर्दै आएका थिए। यस्तै, दुई जना स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा कार्यरत थिए भने चार जना सवारीचालक र अन्य मजदुरीमा संलग्न रहेको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पुनका अनुसार सुरुमा जिल्ला प्रशासन कार्यालयमा ६२ जना सम्पर्कविहीन भएको विवरण आएको थियो। तीमध्ये १२ जनाको उद्धार भइसकेको छ। उद्धार हुनेमा शिव गिरी, देवीप्रसाद चौधरी, उमेश चौधरी, सुनिता तामाङ, भानु न्यौपाने, प्रदीप गिरी, महादेव रावत, अमृता गिरी, निमा शर्मा राउत, मनीषा राउत, मनिला राउत र सानुकान्छी मोक्तान रहेका छन्।
बाँकी ५२ जनाको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ। आफन्तहरू सम्भावित अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेर शव र घाइतेको विवरणसँग मिलान गरिरहेका छन्। कतिपय आफन्त काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालसम्म पुगेर समेत आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन्।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी र पहिचानका लागि स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। आफन्तहरू भने लामो समयसम्म पनि आफ्ना मान्छेको अवस्था थाहा नपाउँदा अन्योल र पीडामा छन्।



