

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु भएका तथा पहिचान खुल्न नसकेका शव काठमाडौंमा पनि व्यवस्थापन गर्न थालिएको छ ।
मंगलबार दिउँसो काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा केही शव जमिनमुनि व्यवस्थापन गरिएको हो । यसअघि सोमबार राति पनि सोही क्षेत्रमा ४६ वटा शव व्यवस्थापन गरिएको थियो ।
भोटेकोशी बाढीपछि फिस्लिङदेखि गोलाघाटसम्म विभिन्न स्थानमा संकलन भएका पहिचान नखुलेका शव भने यसअघि चितवनमै व्यवस्थापन गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार दिउँसोसम्म बाढी तथा विपद्सँग सम्बन्धित घटनामा ९८७ वटा शव प्राप्त भएका छन् । तीमध्ये करिब १०० वटा शव काठमाडौं ल्याइएको जनाइएको छ ।
सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शवहरूको व्यवस्थापन गरिरहेको छ । निर्देशिकाअनुसार शव व्यवस्थापनअघि मुचुल्का तयार गर्ने, प्रारम्भिक पहिचान गर्ने, थप विधिको प्रयोगबाट पहिचानको प्रयास गर्ने, सनाखत तथा अभिलेखीकरण गर्ने र व्यवस्थापन गरिएको स्थानमा संकेत चिह्न राख्नुपर्ने व्यवस्था छ ।
ठूलो संख्यामा शव फेला परेपछि तत्काल पहिचान तथा सनाखत गर्न कठिनाइ भइरहेका बेला सरकारले कानुनी प्रक्रिया पूरा गरी शवलाई व्यवस्थित रूपमा जमिनमुनि व्यवस्थापन गरिरहेको जनाएको छ ।



