

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखेका छन् । अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्न उनले १५–१५ दिनमा अस्पतालको अनुगमन गर्ने बताएका छन् ।
मंगलबार सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गरी नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिए ।
अस्पतालमा आउने कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीले अनावश्यक ढिलासुस्ती, झन्झट र असहजता व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि उनले अस्पताल प्रशासनलाई निर्देशन दिए ।
‘सेती प्रादेशिक अस्पताललाई प्रदेशकै गौरव गर्न लायक अस्पताल बनाउनुपर्छ । सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउने र जनताले अनुभूति गर्ने खालको अस्पताल बनाउन हामी काम गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने ।
उनले अस्पतालको सेवा प्रवाहमा सुधारसँगै भौतिक पूर्वाधार र संरचनागत समस्या समाधानमा पनि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए । अस्पतालमा थप गर्नुपर्ने सेवा तथा सुविधाका लागि सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।
अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले अस्पतालका कर्मचारीसँग छलफलसमेत गरे । अस्पतालले प्रदान गरिरहेका सेवा, जनशक्तिको अवस्था, भौतिक पूर्वाधार तथा व्यवस्थापनका विषयमा अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
यसअघि असार ३१ गते पनि मुख्यमन्त्री भट्टले सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती अस्पतालको अनुगमन गरेका थिए । त्यस क्रममा उनले आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत अस्पतालका विभिन्न स्थानको निरीक्षण गरेका थिए ।
मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीले उपचाररत बिरामीसँग भेट गरी उनीहरूका समस्या तथा गुनासा पनि सुनेका थिए । बिरामीहरूले उपचार सेवा, जनशक्ति र अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए ।
त्यसै क्रममा मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था सुधारका लागि नियमित अनुगमन गर्ने बताएका थिए । सोहीअनुसार छोटो अवधिमै पुनः अस्पतालको निरीक्षण गरिएको हो ।
सुदूरपश्चिममा बिरामीको चाप बढी रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चापअनुसार सेवा सञ्चालन गर्न अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रममार्फत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त हुँदै आएका छन् ।
आवश्यक जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचारका लागि आउने नागरिकले प्रभावकारी सेवा पाउन कठिनाइ भोग्दै आएका छन् । मुख्यमन्त्री भट्टले भने अस्पतालको अवस्था नियमित रूपमा बुझ्ने र देखिएका समस्या समाधानका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने बताएका छन् ।



