

विराटनगर – बिरामीको उपचार र शल्यक्रिया गर्नुपर्ने अस्पतालको अप्रेसन थिएटरमै दुई चिकित्सकबीच हानाहान भएको घटना बाहिरिएको छ। विराटनगर–५ बरगाछी चोकस्थित लाइफगार्ड अस्पतालमा अप्रेसनका लागि आवश्यक उपकरणको विषयलाई लिएर चिकित्सकद्वय डा. इकवाल अहमद र डा. अभिषेक चौधरीबीच विवाद हुँदै हात हालाहाल भएको बताइएको छ।
स्रोतका अनुसार गत भदौ १० गते बुधबार दिउँसो करिब साढे ३ बजे दुवै चिकित्सक आफ्ना बिरामीको अप्रेसनका लागि अप्रेसन थिएटरमा पुगेका थिए। एकै समयमा अप्रेसन गर्नुपर्ने अवस्था आएपछि आवश्यक उपकरण तथा सामग्रीको अभाव भएको बताइएको छ।
त्यही क्रममा अप्रेसनमा प्रयोग हुने एउटा उपकरणलाई लिएर दुई चिकित्सकबीच सुरुमा भनाभन भएको र विवाद बढ्दै जाँदा गालीगलौज तथा हात हालाहालसम्म पुगेको स्रोतको दाबी छ।
स्रोतका अनुसार डा. अभिषेक चौधरीले आफ्नो बिरामीको अप्रेसनका लागि आवश्यक उपकरण मागेका थिए। उक्त उपकरण डा. इकवालको प्रयोगमा रहेको र केही समयपछि उपलब्ध गराउने जवाफ पाएपछि विवाद सुरु भएको बताइएको छ। पछि यही विषयलाई लिएर विवाद चर्किँदा दुवै चिकित्सकबीच हात हालाहाल भएको र त्यसक्रममा डा. चौधरीको टाउकोमा चोट लागेको स्रोतले जनाएको छ।
घटनापछि अस्पताल प्रशासनलाई जानकारी गराइएको थियो। त्यसपछि विषय जिल्ला प्रहरी कार्यालय मोरङसम्म पुगेको र दुवै पक्षबीच सहमति तथा मिलापत्र भएपछि घटना बाहिर नल्याउने प्रयास गरिएको स्रोतको दाबी छ।
तर, बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको अप्रेसन थिएटरभित्रै चिकित्सकबीच विवाद र कुटाकुट हुनु सामान्य विषय नभएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने प्रश्न उठेको छ।
बिरामी तथा आफन्तहरू अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि विश्वास गरेर उपचारका लागि पुग्छन्। अझ शल्यक्रियाका लागि अप्रेसन थिएटरमा पुगेका बिरामीका लागि चिकित्सकबीचको समन्वय, आवश्यक उपकरणको उपलब्धता र सुरक्षित उपचार वातावरण अत्यन्त संवेदनशील विषय हो।
त्यसैले अप्रेसनका लागि आवश्यक उपकरण तथा जनशक्तिको पर्याप्त व्यवस्था थियो कि थिएन भन्ने विषयमा समेत अस्पताल प्रशासनले स्पष्ट पार्नुपर्ने देखिन्छ। एउटै समयमा धेरै बिरामीको अप्रेसन गर्नुपर्दा आवश्यक उपकरण अपुग भएको हो भने अस्पतालले पूर्वतयारी र व्यवस्थापनमा कमजोरी गरेको हुनसक्ने प्रश्न उठ्छ।
अस्पतालमा उपचारका लागि पुगेका बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ। अप्रेसनजस्तो संवेदनशील प्रक्रियाका क्रममा चिकित्सकबीच विवाद उत्पन्न हुँदा त्यसको प्रत्यक्ष असर बिरामीको उपचारमा पर्न सक्ने भएकाले घटनाको गम्भीर छानबिन आवश्यक देखिन्छ।
यस घटनामा चिकित्सकबीच भएको विवाद, एक चिकित्सक घाइते भएको भनिएको विषय, अप्रेसनका लागि आवश्यक उपकरणको उपलब्धता तथा अस्पतालको व्यवस्थापन पक्षबारे सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ। दोष पुष्टि भएमा सम्बन्धित चिकित्सक तथा अस्पताल प्रशासनको भूमिकाका आधारमा आवश्यक कारबाही हुनुपर्ने आवाज उठेको छ।



