

काठमाडौँ – रसुवाको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेको छ। बाढीपछि उपचारका लागि स्वास्थ्य शिविरमा पुगेका स्थानीयमा झाडापखालाका बिरामी भेटिन थालेका छन् भने प्राकृतिक विपत्तिको त्रासका कारण मानसिक आघातको समस्या पनि देखिएको चिकित्सकहरूले बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–लिङलिङमा पुगेर बाढी प्रभावितको उपचारमा खटिएको छ।
उपचारका क्रममा अहिले दैनिकजसो झाडापखालाका दुई–चार जना बिरामी भेटिन थालेको उपचारमा संलग्न डा. सरोजकुमार गोहिवारले जानकारी दिए। उनका अनुसार बाढीपछि मानिसमा डर र त्रास बढेकाले धेरैमा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) अर्थात् मानसिक आघातसम्बन्धी समस्या पनि देखिएको छ।
त्यस्तै, यसअघि नै स्वास्थ्य समस्या रहेका स्थानीयमा उच्च रक्तचाप, मधुमेह तथा घुँडा दुख्नेलगायतका समस्या बढी देखिएको चिकित्सक टोलीले जनाएको छ।
बाढीका कारण खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले प्रभावित क्षेत्रमा झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोग फैलिने जोखिम उच्च रहेको चिकित्सकहरूको भनाइ छ। त्यसलाई मध्यनजर गर्दै टोलीले स्थानीयवासीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, सुरक्षित पानी प्रयोग गर्न तथा स्वास्थ्यमा समस्या देखिए तत्काल उपचारका लागि सम्पर्क गर्न सचेत गराएको छ।
बाढी प्रभावित क्षेत्रमा नियमित सेवन गर्नुपर्ने उच्च रक्तचाप र मधुमेहका औषधिको अभावसमेत देखिएको छ। त्यस्तै, खाद्यान्नको समस्या र विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नसमेत कठिनाइ भइरहेको स्थानीयको अवस्था रहेको चिकित्सक टोलीले जनाएको छ।
विपद्पछि तत्कालीन चोटपटकको उपचारसँगै पानीजन्य रोग, नियमित औषधि सेवन गर्ने बिरामीको व्यवस्थापन र मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने चिकित्सकहरूले बताएका छन्।



