

धनगढी – सुदूरपश्चिम प्रदेशका चार प्रादेशिक अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग हुने भएका छन्। यसका लागि सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयबीच २० वर्षका लागि समझदारी भएको छ।
सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच शिक्षण अस्पतालका रूपमा अस्पताल प्रयोग गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताल विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग हुनेछन्।
सम्झौताको मुख्य उद्देश्य स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल अध्ययन तथा अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा सुदृढीकरणमा प्रदेशमा उपलब्ध जनशक्ति, पूर्वाधार तथा स्रोतसाधनको अधिकतम उपयोग गर्नु रहेको छ।
विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त एमबीबीएसलगायत स्नातक, स्नातकोत्तर, डीएम/एमसीएच र पीएचडी तहका स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ। साथै, चारवटै अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्लिनिकल शिक्षा प्रदान गर्नुका साथै उनीहरूको शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि समेत सहकार्य गरिनेछ।
समझदारीले अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।
सम्झौताअनुसार अस्पतालमा कार्यरत योग्य विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्वविद्यालयको प्रचलित नियमअनुसार शिक्षकको पदनाम दिन सकिनेछ। शैक्षिक तथा प्रयोगात्मक कार्यक्रममा संलग्न शिक्षकलाई पारिश्रमिक र भत्ता उपलब्ध गराउने, फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्ने तथा विद्यार्थीको शैक्षिक गतिविधिको सुपरिवेक्षण र अनुगमन गर्ने जिम्मेवारी विश्वविद्यालयको हुनेछ।
त्यस्तै, अस्पतालमा अध्ययन–अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री, प्रयोगशाला, उपकरण, पुस्तकालय तथा सूचना प्रविधिमैत्री शैक्षिक वातावरण विकासमा आवश्यक सहयोग गर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ।
समझदारीपत्रमा प्रदेश सरकारका निमित्त प्रदेश सचिव डा. नीरज अर्याल र विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले हस्ताक्षर गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका अधिकारी, सामाजिक विकास मन्त्रालयका महाशाखा तथा शाखा प्रमुख, चारवटै अस्पतालका अध्यक्ष तथा मेडिकल सुपरिटेन्डेन्टलगायतको उपस्थिति थियो।
सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले यो समझदारीले सुदूरपश्चिममा चिकित्सा शिक्षा विस्तारसँगै प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। प्रदेशमा सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।



