

काठमाडौं – नेपाल औषधि आयातकर्ता संघले भोटेकोशी–रसुवा क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उपचार तथा राहत–उद्धार कार्यका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
संघले आफ्ना सदस्य औषधि आयातकर्ता तथा सम्बन्धित संस्थाहरूबाट संकलन गरेका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लागेको हो।
संघका अनुसार मन्त्रालयले उपलब्ध गराएको अत्यावश्यक औषधिको सूचीअनुसार कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टी रेबिज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायतका औषधि तथा स्वास्थ्य सामग्री संकलन गरी राहत तथा उद्धार प्रयोजनका लागि उपलब्ध गराइएको हो।
भोटेकोशी–रसुवा क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा शोकसन्तप्त परिवारप्रति संघले समवेदना व्यक्त गरेको छ। प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघले विपद्को समयमा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ।

संघले उपलब्ध गराएका औषधि तथा स्वास्थ्य सामग्रीहरू स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यकता भएका बाढी प्रभावित क्षेत्र तथा स्वास्थ्य संस्थामा शीघ्र र प्रभावकारी रूपमा वितरण हुने अपेक्षा गरेको छ।
आगामी दिनमा समेत आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र आपूर्तिमा मन्त्रालयसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ।
नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन कुमार आचार्य र महासचिव मधु पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त सहयोगबारे औषधि व्यवस्था विभागलाई जानकारी गराइएको हो।



