

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ। आइतबार बेलुका गाइनो वार्डबाट नवजात शिशु लिएर एक अपरिचित महिला फरार भएको प्रहरीले जनाएको छ।
सर्लाहीको रामनगर नगरपालिका–३ का रञ्जय दास र रिंकु देवी दासका एक दिने छोरालाई ती महिलाले अस्पतालको गाइनो वार्डबाट लिएर गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।
प्रहरीका अनुसार गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना गरिएका शिशुलाई सरसफाइ कर्मचारीको रूपमा आएकी एक महिलाले खेलाउने बहानामा आफूसँगै लगेकी थिइन्। शिशु लिएर महिला फरार भएपछि प्रहरीले उनको खोजी थालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटना सार्वजनिक भएपछि महिलाको खोजी तथा शिशुको उद्धारका लागि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।
शिशुकी हजुरआमा साँझा देवीका अनुसार ती महिला यसअघि पनि अस्पताल परिसरमा सरसफाइ कर्मचारीका रूपमा देखिने गरेकी थिइन्। बच्चासँग नजिकिएकी उनले खेलाउने बहानामा शिशुलाई लिएर गएको हजुरआमाको भनाइ छ।
उनका अनुसार आफूले बच्चाको हेरचाह गरिरहेको समयमा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि केही समयका लागि बाहिर गएकी थिइन्। आफू बाहिर गएको मौका पारेर ती महिलाले शिशुलाई लिएर गएको उनले बताइन्।
अस्पतालजस्तो संवेदनशील स्थानबाटै एक दिने नवजात शिशु चोरी भएपछि परिवारमा त्रास र चिन्ता बढेको छ। प्रहरीले घटनामा संलग्न महिलाको पहिचान तथा शिशुको खोजीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।



