

चितवन- रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवन पुगेका शवमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बाढीपछि चितवनमा हालसम्म २७२ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भइसकेको छ भने १९९ वटा सनाखत हुन नसकेपछि व्यवस्थापन गरिएको हो।
व्यवस्थापन गरिएका शवको डिएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डिएनए परीक्षण मिलेको अवस्थामा सम्बन्धित शव पहिचान गरी परिवारलाई बुझाउन सकिने गरी व्यवस्थापन गरिएको पौडेलले बताए।
सनाखत भएका शवको आवश्यक प्रक्रिया पूरा गरी परीक्षणपछि सम्बन्धित परिवारले बुझेर लगेका छन्।
प्रहरीका अनुसार हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा मानव अवशेष रहेका छन्।
त्रिशूली र नारायणी नदी तथा नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले खोजी तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको छ। यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।



