

काठमाडौँ – रसुवामा आएको आकस्मिक बाढीबाट घाइते भई विभिन्न स्वास्थ्य संस्थामा उपचाररत १३६ जनामध्ये ४८ जना उपचारपछि घर फर्किएका छन्। अझै ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीका क्रममा तथा उपचारका लागि अस्पताल पुर्याउने क्रममा गरी दुई जनाको मृत्यु भएको छ।
घाइतेमध्ये रसुवा जिल्ला अस्पतालमा ५३ जना, काठमाडौँस्थित टिचिङ अस्पतालमा ३७ जना र नुवाकोटको त्रिशूली अस्पतालमा १७ जनाको उपचार गरिएको जनाइएको छ।
बाढीले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ गरी चार वटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
यस्तै, वैरेनी अस्पताल र चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ। क्षतिका कारण ती स्वास्थ्य संस्था हाल सञ्चालनमा आउन सकेका छैनन्। धादिङ अस्पताल र त्रिशूली अस्पताल पुग्ने पहुँच मार्गसमेत अवरुद्ध हुँदा स्वास्थ्य सेवा व्यवस्थापनमा थप चुनौती देखिएको छ।
यसबीच स्वास्थ्य क्षेत्रबाट राहत तथा आपत्कालीन व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ। शव व्यवस्थापनका लागि आवश्यक झोलाको व्यवस्थापन गर्न विश्व स्वास्थ्य सङ्गठन र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको जनाइएको छ।
बाढीपछिको स्वास्थ्य अवस्था, भइरहेको प्रतिकार्य, उपलब्ध स्रोतसाधन तथा आगामी व्यवस्थापनका विषयमा छलफल गर्न दोस्रो स्वास्थ्य क्लस्टर समन्वय बैठकसमेत सम्पन्न भएको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले जनाएको छ।



