

काठमाडौं – नेपाल चिकित्सक संघले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा चिकित्सक टोली परिचालन गरी आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
संघका अध्यक्ष डा. बद्रि रिजालको नेतृत्वमा नौ जना चिकित्सकको टोली औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा पुगेको हो।
टोलीले नुवाकोटको देवीघाट, ढुङ्गे र विदुरलगायतका प्रभावित क्षेत्रमा पुगेर बिरामी तथा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण र उपचार गरेको छ। साथै आवश्यक परेकालाई निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।
बाढीपछिको अवस्थामा प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या बढ्न सक्ने र महामारी फैलिने जोखिमलाई ध्यानमा राख्दै तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको संघको भनाइ छ।
विपद्को समयमा प्रभावित नागरिकलाई स्वास्थ्य उपचारसँगै आवश्यक राहत पुर्याउने उद्देश्यले चिकित्सक टोली परिचालन गरिएको जनाइएको छ।



