

काठमाडौं – एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजेज अफ नेपालअन्तर्गतका शिक्षण अस्पतालहरूले रसुवा बाढीबाट प्रभावित तथा घाइते नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
एसोसिएसनले विज्ञप्तिमार्फत २०८३ भदौ १० गते बिहान मित्रराष्ट्र चीनको तिब्बतस्थित भूभागबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
बाढी तथा विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एसोसिएसनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एसोसिएसनका अनुसार यसअन्तर्गत सञ्चालित मेडिकल तथा डेन्टल कलेजसँग आबद्ध शिक्षण अस्पतालहरूले प्राकृतिक विपत्ति, महामारी तथा अन्य आपत्कालीन अवस्थामा मानवीय सेवाको भावनाका साथ स्वास्थ्य उपचार र आवश्यक सहयोग गर्दै आएका छन्।
हाल रसुवा बाढीबाट प्रभावित तथा घाइते नागरिकको उपचारमा देखिएको गम्भीर अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित शिक्षण अस्पतालहरूले आवश्यक स्वास्थ्य परीक्षण, उपचार तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएका हुन्।
उपचारका क्रममा आवश्यक विशेषज्ञ सेवा, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सेवामा समेत अस्पतालहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्ने एसोसिएसनले जनाएको छ।
बाढी प्रभावित तथा घाइते नागरिकले उपचारका लागि एसोसिएसनअन्तर्गतका सम्बन्धित शिक्षण अस्पतालसँग आवश्यक समन्वय गरी सेवा लिन सक्ने जनाइएको छ।
एसोसिएसनले विपद्को यस घडीमा नेपाल सरकार, स्वास्थ्य तथा सुरक्षा निकाय, स्थानीय तह, विभिन्न संघसंस्था तथा नागरिकसँग आवश्यक समन्वय र सहकार्य गर्दै मानवीय सेवामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।
‘विपद्मा परेका नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारमा हाम्रो साथ सदैव रहनेछ,’ एसोसिएसनले विज्ञप्तिमा भनेको छ।




