

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कुनै समस्या, जानकारी वा सहयोग आवश्यक परे निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी तथा सहयोगका लागि मन्त्रालयको हटलाइन नम्बर १११५ मा फोन गर्न अनुरोध गरेको हो ।
रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको ठूलो बाढीले विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । भोटेकोशी नदीमा बाढी मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् ।
बाढीका कारण बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
यसैबीच, प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सेवा, जानकारी तथा सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह गरेको हो ।



