

काठमाडौं- चीनको तिब्बत हुँदै त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उद्धार र उपचार सेवामा सक्रिय सहभागी हुन अपिल गरेको छ ।
काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकीय तथा मानवीय दायित्वका साथ परिचालित हुन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो ।
विपद्का कारण थप मानवीय तथा भौतिक क्षति हुन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवाको आवश्यकता रहेको काउन्सिलले जनाएको छ ।
काउन्सिलले बाढी तथा पहिरोपछि उत्पन्न हुन सक्ने अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य जोखिमप्रति समेत सचेत रहन आग्रह गरेको छ । घाइते तथा विस्थापित नागरिकमा उपचार, सरसफाइ र सुरक्षित खानेपानीको अभाव तथा संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको भन्दै समयमै आवश्यक रोकथाम तथा उपचारका उपाय अपनाउन काउन्सिलले अनुरोध गरेको छ ।
त्यस्तै, विपद्का कारण प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलाई समेत ध्यान दिन काउन्सिलले आग्रह गरेको छ ।
काउन्सिलका रजिष्ट्रारद्वारा जारी विज्ञप्तिमा विपद्को कठिन परिस्थितिमा चिकित्सकीय सेवा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका साथ प्रभावित नागरिकको जीवनरक्षा तथा स्वास्थ्य संरक्षणमा एकजुट भएर योगदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपिल गरिएको छ ।



