

काठमाडौं- औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः भरत भट्टराईले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
औषधिको मूल्यसम्बन्धी विषयमा विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानविनमा परेपछि राष्ट्रिय औषधी प्रयोगशालाका तत्कालीन निर्देशक भट्टराईलाई समेत मन्त्रालयमा तानिएको थियो ।
गत ३ वैशाखमा मन्त्रालयमा तानिएका भट्टराईलाई करिब साढे पाँच महिनापछि पुनः विभागको नेतृत्व दिइएको हो । मन्त्रालयका अनुसार भट्टराईको सम्बन्धमा कुनै विशेष मुद्दा नरहेको र लामो समय जिम्मेवारीविहीन राख्न उचित नदेखिएपछि महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
भट्टराई यसअघि पनि औषधी व्यवस्था विभागको महानिर्देशक भइसकेका छन् ।
यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी दशौँ तहकी शिवानी खड्गी भने अब आफ्नो पुरानै जिम्मेवारीमा फर्किनेछिन् ।



