

नयाँ दिल्ली- भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको संक्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन्। संक्रमण बढिरहेका राज्यहरूले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ संक्रमित भेटिएका छन्। तीमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ संक्रमण पुष्टि भएको छ। गत वर्ष यही अवधिमा एच१एन१ का २ सय २९ संक्रमित मात्रै भेटिएकाले यस वर्ष दिल्लीमा संक्रमितको संख्या करिब आठ गुणाले बढेको देखिएको छ।
अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ एच१एन१ संक्रमित थपिएका थिए। सोही अवधिमा एच३ का १ सय ३८ र एच१ का ३७ संक्रमित पनि पुष्टि भएका छन्।
यस्तै, उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जना स्वाइन फ्लु संक्रमित भेटिएका छन्। उत्तर प्रदेशमा पुष्टि भएका संक्रमितमध्ये अधिकांश राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेको जनाइएको छ। मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका ११ संक्रमित उपचाररत छन्।
महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म एच१एन१ का ३ सय ९ संक्रमित भेटिएका छन्। गत वर्ष सोही अवधिमा ७२ जना मात्रै संक्रमित भएकामा यस वर्ष संख्या चार गुणाभन्दा बढी पुगेको छ। छत्तीसगढमा पनि एक संक्रमित भेटिएको जनाइएको छ।
आईसीएमआरले भन्यो– आत्तिनुपर्दैन
संक्रमण बढिरहेका बेला भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले अहिले फैलिरहेको स्वाइन फ्लु कुनै नयाँ भेरियन्ट नभएको स्पष्ट पारेको छ। परिषद्का अनुसार यो भाइरस सन् २०२५ देखि नै भारतमा रहेको र निरन्तर निगरानीमा छ।
केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले पनि बढ्दो संक्रमणबारे समीक्षा गर्दै रोगको निगरानी बढाउन, परीक्षण विस्तार गर्न तथा अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। गम्भीर अवस्थामा पुग्न सक्ने बिरामीको समयमै पहिचान र उपचारमा पनि जोड दिइएको छ।
विश्व स्वास्थ्य संगठनकी पूर्वमुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले अहिले देखिएको संक्रमण मौसमी इन्फ्लुएन्जासँग सम्बन्धित रहेको बताएकी छन्। निगरानी र परीक्षणको दायरा विस्तार भएकाले पनि संक्रमितको संख्या बढी देखिएको हुन सक्ने उनको भनाइ छ।
उनले सर्वसाधारणलाई आत्तिनुभन्दा सावधानी अपनाउन सुझाव दिएकी छन्। विशेषगरी उच्च जोखिममा रहेका व्यक्तिलाई भीडभाडबाट जोगिन तथा रुघाखोकी, खोकीलगायतका लक्षण देखिएमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।



