

काठमाडौं- आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका छन्। नवनियुक्त रजिस्ट्रार डा. अर्यालले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्। उनले एमडी अध्ययनमा स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए।
सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत डा. अर्यालले यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए।
डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन्। आयुर्वेद चिकित्सा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका उनलाई परिषद्को रजिस्ट्रारको जिम्मेवारी दिइएको हो।



