

लमजुङ – लमजुङ अस्पतालमा एक बिरामीको घाँटीमा जिउँदो रातो कमिला अड्किएको असामान्य घटना सार्वजनिक भएको छ। करिब ३५ वर्षीय पुरुषले गुलियो पदार्थ खाएपछि अचानक घाँटीमा अत्यधिक दुखाइ र असहजता महसुस भएपछि अस्पताल पुगेका थिए।
बिरामीको प्रारम्भिक परीक्षणका क्रममा गरिएको एक्सरेमा घाँटीमा कुनै वस्तु देखिएको थिएन। तर दुखाइ अत्यधिक रहेपछि लमजुङ अस्पतालको शल्यचिकित्सा विभागका चिकित्सकहरूले थप परीक्षणका लागि दूरबिनको माध्यमबाट घाँटीभित्र हेर्ने निर्णय गरेका थिए।
दूरबिनबाट परीक्षण गर्दा श्वासप्रश्वास नली र खाना जाने नलीको बीचमा रहेको घाँटीको संवेदनशील भागमा जिउँदो रातो कमिला बलियोसँग टाँसिएको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ।
कमिला घाँटीको संवेदनशील भागमा टोक्दै अड्किएको अवस्थामा रहेकाले चिकित्सकहरूले निकै सावधानीपूर्वक निकाल्ने प्रयास गरेका थिए। पहिलो प्रयासमा कमिलाको शरीर मात्र बाहिर निकाल्न सफल भए पनि त्यसको टाउको घाँटीमै अड्किएको थियो।
त्यसपछि थप सावधानी अपनाएर दोस्रो प्रयासमा कमिलाको टाउकोसमेत सफलतापूर्वक निकालिएको चिकित्सकहरूले बताएका छन्।
अस्पतालका अनुसार समयमै गरिएको थप परीक्षण र दूरबिन प्रविधिको प्रयोगका कारण घाँटीमा अड्किएको कमिला पहिचान गरी निकाल्न सम्भव भएको हो। घटनापछि चिकित्सकहरूले खाना तथा पेय पदार्थ सेवन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
लमजुङ अस्पतालको चिकित्सकीय टोलीले समयमै सही परीक्षण र उपचारको निर्णय गर्न सकेकाले बिरामीलाई सम्भावित थप जोखिमबाट जोगाउन सफल भएको जनाएको छ।



