

काठमाडौँ – विदेशी चिकित्सकहरूले नेपालमा दर्ताका लागि पेस गरेका कागजातमध्ये केही फर्जी रहेको पुष्टि भएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विभिन्न अस्पतालमा कार्यरत विदेशी चिकित्सकले पेस गरेका कागजात सम्बन्धित देशका मेडिकल नियामक निकायसँग प्रमाणीकरण गर्ने क्रममा केही ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित निकायबाट जारी नै नभएको पुष्टि भएको काउन्सिलले जनाएको छ।
कागजातको आधिकारिकता परीक्षण नगरी विदेशी चिकित्सकको दर्ताका लागि सिफारिस गर्ने स्वास्थ्य संस्था, सम्बन्धित विदेशी चिकित्सक तथा उनीहरूको सनाखत गर्ने नेपाली चिकित्सकसँग काउन्सिलले लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको छ। आवश्यक परे उनीहरूलाई बयानका लागि काउन्सिलमा उपस्थित गराइने जनाइएको छ।
घटनालाई गम्भीर रूपमा लिँदै काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकहरूको दर्ता अवस्था, कार्यस्थिति तथा व्यावसायिक गतिविधिबारे आवश्यक अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकको शैक्षिक योग्यता तथा पेसागत कागजातको पूर्ण प्रमाणिकता सुनिश्चित गर्न काउन्सिल प्रतिबद्ध रहेको जनाएको छ।
काउन्सिलले अबदेखि कुनै पनि मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा अस्पतालले विदेशी चिकित्सकको दर्ताका लागि कागजातको सत्यता यकिन नगरी सिफारिस गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थाकै हुने स्पष्ट पारेको छ।




