

पोखरा- बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु गरिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको साझेदारी, नोरा हेल्थको आर्थिक सहयोग तथा बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) को नेतृत्व र कार्यान्वयनमा सञ्चालन हुने कार्यक्रमको प्रारम्भिक बैठक मंगलबार पोखरामा सम्पन्न भएको हो ।
प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेको प्रमुख आतिथ्य तथा स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. युवानिधि बसौलाको अध्यक्षतामा भएको बैठकमा प्रदेशका १४ प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा मेट्रोन र स्थानीय तहअन्तर्गतका दुई अस्पतालका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रमअन्तर्गत अस्पतालमा बिरामी वा सुत्केरीको कुरुवा बस्ने परिवारका सदस्यलाई केवल सहयोगीका रूपमा नभई स्वास्थ्य हेरचाहका सक्षम साझेदारका रूपमा विकास गरिनेछ । स्वास्थ्यकर्मीमार्फत परिवारका सदस्यलाई औषधि तथा उपचार, पोषण, सरसफाइ, संक्रमण रोकथाम र मानसिक सहयोगलगायत आधारभूत हेरचाहसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
विशेषगरी मातृ तथा शिशु स्वास्थ्य, क्षयरोग र नसर्ने रोगलगायत क्षेत्रमा पारिवारिक सहभागितालाई प्राथमिकता दिइनेछ । डिस्चार्जपछि घरमा पर्याप्त हेरचाह नपाउँदा बिरामी पुनः अस्पताल आउनुपर्ने अवस्था कम गर्न प्रत्यक्ष शिक्षा तथा डिजिटल माध्यमबाट सूचना र फलोअपको व्यवस्था गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले स्वास्थ्य सेवालाई जनमुखी, गुणस्तरीय र परिवारमैत्री बनाउन कार्यक्रम महत्त्वपूर्ण हुने बताए । यसले उपचारको प्रभावकारिता बढाउने उल्लेख गर्दै उनले कार्यक्रमलाई प्रदेशको स्वास्थ्य प्रणालीसँग जोडेर संस्थागत रूपमा अघि बढाउन मन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश स्वास्थ्य सचिव डा. युवानिधि बसौलाले अस्पतालमा हुने उपचारसँगै घरमा गरिने हेरचाह पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले कार्यक्रमका लागि आवश्यक प्राविधिक तथा आर्थिक सहयोग निरन्तर रहने जानकारी दिए ।
एमपीडीएसका कार्यकारी निर्देशक प्रेमबहादुर महरले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि तथा कार्यक्रमको दिगोपनाका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आगामी चरणमा सहभागी अस्पतालबाट स्वास्थ्यकर्मी छनोट, क्षमता अभिवृद्धि, परिवार तथा कुरुवा शिक्षा र डिजिटल नामांकन तथा अनुगमन प्रक्रियालाई क्रमशः अघि बढाइनेछ । कार्यक्रमले ‘अस्पतालमा उपचार, घरमा निरन्तर हेरचाह’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ ।



