

काठमाडौँ – पछिल्ला केही दिनयता भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन्। ज्वरो आउने, टाउको तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिएपछि उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्ने बिरामीको संख्या बढिरहेको छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार मनसुनका कारण रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका छन्। दुवै भाइरसका कारण हुने भए पनि तिनका लक्षणमा केही फरक हुने भएकाले स्वास्थ्य अवस्थालाई ध्यान दिन आवश्यक रहेको उनले बताए।
मौसमी रुघाखोकीमा सामान्यतया नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाच्छ्युँ आउने, घाँटी खसखस गर्ने वा दुख्ने तथा हल्का ज्वरो आउने गर्छ। यससँगै शरीरमा सामान्य थकानसमेत महसुस हुन सक्छ।
भाइरल ज्वरोमा भने अचानक उच्च ज्वरो आउने, शरीर, जोर्नी तथा मांसपेशी अत्यधिक दुख्ने, कडा टाउको दुख्ने र चक्कर लाग्ने जस्ता लक्षण देखिन सक्छन्। कतिपयमा खान मन नलाग्ने, अत्यधिक कमजोरी हुने तथा बान्ता वा झाडापखालाजस्ता पेटसम्बन्धी समस्या पनि देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
के सावधानी अपनाउने ?
ज्वरो वा रुघाखोकी लागेका बेला शरीरमा पानीको मात्रा कम हुन नदिन मनतातो पानी, सुप, कागती पानी तथा अन्य झोलिलो पदार्थ प्रशस्त सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पर्याप्त आराम गर्न र पोषिलो तथा ताजा खाना खान पनि उनीहरूको सुझाव छ।
ज्वरो वा टाउको दुखेमा चिकित्सकको सल्लाहअनुसार सिटामोल प्रयोग गर्न सकिन्छ। तर चिकित्सकको परामर्शबिना अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गर्न नहुने विशेषज्ञहरू बताउँछन्।
यी लक्षण देखिए अस्पताल जानुहोस्
लगातार तीन दिनभन्दा बढी उच्च ज्वरो नघटेमा, श्वास फेर्न गाह्रो भएमा वा छाती दुखेमा स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। अत्यधिक कमजोरी भएर उठ्नसमेत नसक्ने अवस्था आएमा पनि ढिला नगरी अस्पताल जानुपर्ने उनीहरूको भनाइ छ।



