

सिराहा – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिराहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने घोषणा गरेकी छन्। राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारलाई प्राथमिकतामा राख्दै लहान अस्पतालमा ट्रमा सेवा सुरु गर्न लागिएको उनले बताइन्।
लहानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण तथा आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइन्।
उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सक विभिन्न स्वास्थ्य संस्थामा पठाइसकेको छ। लहान अस्पतालमा सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भइरहेको भन्दै उनले अर्थोपेडिक सर्जन, एनेस्थेसिया विशेषज्ञसहितको टोली व्यवस्थापन गरी ट्रमा सेवा सञ्चालन गरिने बताइन्।
“ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सक आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित हुनुका साथै यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पतालजस्ता पूर्वाधार उपलब्ध छन्। त्यसैले तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ,” मन्त्री मेहताले भनिन्।
स्वास्थ्य बीमा कार्यक्रमबारे मन्त्री मेहताले विगतमा रहेको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको जानकारी दिइन्। स्वास्थ्य बीमाअन्तर्गत रहेका केही प्याकेज अवैज्ञानिक देखिएकाले तिनको पुनरावलोकन भइरहेको उनले बताइन्।
स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्दै उनले निजी अस्पतालमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालमा सेवा यथावत् रहेको बताइन्। करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमा निर्भर रहेकाले स्वास्थ्य बीमाको प्रभावकारिता बढाउन सरकारले काम गरिरहेको उनको भनाइ छ।
तराई क्षेत्रमा देखिएको एन्टी स्नेक भेनमको अभावबारे पनि मन्त्री मेहताले जानकारी दिइन्। उनका अनुसार काठमाडौँमा ८ हजार ५ सय भायल एन्टी स्नेक भेनम आइपुगेको छ र आइतबारदेखि देशका विभिन्न क्षेत्रमा वितरण सुरु गरिनेछ।
केही अस्पताल तथा सैनिक क्याम्पमा औषधिको मौज्दात कम भए पनि देशभर पूर्ण रूपमा अभाव हुन नदिने व्यवस्था मिलाइएको मन्त्री मेहताले बताइन्।



