

स्याङ्जा – प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जामा बिरामीको संख्या निरन्तर बढ्दै गए पनि स्थायी चिकित्सक र कर्मचारीको अभावका कारण स्वास्थ्य सेवा प्रवाहमा चुनौती थपिएको छ। सेवा विस्तार र व्यवस्थापकीय सुधार भए पनि अधिकांश सेवा करार कर्मचारीको भरमा सञ्चालन भइरहेकाले दीर्घकालीन रूपमा गुणस्तरीय सेवा दिन कठिन भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालमा दैनिक दुई सयदेखि दुई सय ५० जनासम्म ओपिडीका बिरामी तथा ५० भन्दा बढी आकस्मिक बिरामी उपचारका लागि आउने गरेका छन्। मौसम परिवर्तनसँगै विभिन्न रोगका बिरामी बढेपछि ५० शय्याको अस्पतालमा सेवाको माग उल्लेखनीय रूपमा बढेको छ।
तर बढ्दो बिरामी चापअनुसार आवश्यक स्थायी जनशक्ति नहुँदा सेवा व्यवस्थापनमा समस्या देखिएको अस्पतालको भनाइ छ। अस्पतालमा ६८ जनाको स्थायी दरबन्दी र करारसहित ९० कर्मचारीको व्यवस्था रहे पनि हाल स्थायी कर्मचारी भने ११ जना मात्रै कार्यरत छन्। बाँकी ७९ जना करार कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको छ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष डिलकुमार भुजेलले स्थायी जनशक्तिको अभाव अस्पतालको प्रमुख समस्या बनेको बताए। उनका अनुसार करार कर्मचारी बारम्बार परिवर्तन भइरहँदा सेवा प्रवाहमा निरन्तरता कायम गर्न र दक्ष जनशक्ति टिकाइराख्न कठिन भइरहेको छ, जसले सेवाको गुणस्तरमा समेत असर पारिरहेको छ।
हाल अस्पतालमा आकस्मिक सेवा, ओपिडी, शल्यक्रिया, मातृ तथा प्रसूति सेवा, मिर्गौला डायलासिस, आँखा, दाँत तथा भिडियो एक्स–रेलगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्। तर सेवा विस्तार भएअनुसार स्थायी चिकित्सक र कर्मचारीको व्यवस्था हुन नसक्दा कार्यभार बढ्दै गएको अस्पतालले जनाएको छ।
सदरमुकाम नजिकै रहेको अस्पतालमा सहज सडक पहुँचको अभावसँगै आवश्यक दरबन्दीअनुसार चिकित्सक र कर्मचारी नहुँदा सेवा विस्तारमा थप कठिनाइ भएको अस्पताल प्रशासनको भनाइ छ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश अस्पतालमा देखिएको जनशक्ति अभाव समाधान गर्न प्रदेश सरकार आवश्यक पहलमा रहेको बताए। उनले नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक दरबन्दी व्यवस्थापन र जनशक्ति सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको बताए।
पछिल्ला वर्षहरूमा पूर्वाधार, उपकरण र सेवा विस्तारमा उल्लेखनीय सुधार भए पनि स्थायी चिकित्सक र कर्मचारी अभावको समस्या समाधान नगरेसम्म अपेक्षित स्तरको स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुने देखिएको छ। अस्पतालको दीर्घकालीन सुधारका लागि आवश्यक दरबन्दी पूर्ति र स्थायी जनशक्ति व्यवस्थापनमा सरकारले समयमै पहल गर्नुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएका छन्।



