

काठमाडौं- अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरू र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आन्दोलनका मागबारे समाधान खोज्न वार्ता सुरु भएको छ।
मन्त्रालयमा जारी वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्। मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र, स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू उपस्थित छन्।
मन्त्रालय स्रोतका अनुसार वार्तामा रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूलाई सहमतिमार्फत सम्बोधन गर्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। आन्दोलनलाई संवादमार्फत निष्कर्षमा पुर्याउने उद्देश्यका साथ दुवै पक्षबीच सहमतिको प्रयास जारी रहेको जनाइएको छ।
वार्ताको निष्कर्षबारे भने हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। मन्त्रालयले छलफल सकारात्मक ढंगले अघि बढिरहेको जनाएको छ।



