

काठमाडौं – औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एमफास्ट–एल नामक औषधिको एक खेप तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले सोमबार जारी गरेको सूचनाअनुसार नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो।
विभागका अनुसार खेप नम्बर ०२५०७९ रहेको यो औषधि जुन २०२५ मा उत्पादन गरिएको र मे २०२७ सम्म प्रयोग गर्न मिल्ने उल्लेख छ। परीक्षणका क्रममा औषधिले आईपी–२०२६ अन्तर्गतको घुलनशीलता सम्बन्धी मापदण्ड पूरा गर्न नसकेको विभागले जनाएको छ।
यसै आधारमा औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त खेपको बिक्री–वितरण रोक्का गर्दै बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा आधिकारिक प्रतिनिधिलाई निर्देशन दिइएको छ। यो औषधि भेगा औषधि उद्योग प्रालि, बुङमती–२, ललितपुर ले उत्पादन गरेको हो।
विभागले स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उक्त खेप नम्बर ०२५०७९ को एमफास्ट–एल औषधि सिफारिस, बिक्री वा प्रयोग नगर्न आग्रह गरेको छ। साथै बजारमा उक्त औषधि भेटिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरेको छ।



