

काठमाडौं- फोक्सोको क्यान्सर अहिले विश्वभरि नै बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको छ। पहिले धूम्रपान र मदिरा सेवन गर्ने व्यक्तिमा बढी देखिने यो रोग अहिले वातावरणीय प्रदूषण, धूलोधुँवा, आनुवंशिक कारण तथा अस्वस्थ जीवनशैलीका कारण धूम्रपान नगर्ने व्यक्तिमा पनि देखिन थालेको विशेषज्ञहरूले बताएका छन्।
नेपाल मेडिकल कलेजमा कार्यरत क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट) डा. रिता महासेठका अनुसार फोक्सोको क्यान्सरबाट जोगिन सबैभन्दा प्रभावकारी उपाय भनेको समयमै स्क्रिनिङ गर्नु हो। उनका अनुसार स्क्रिनिङ भनेको रोगको सुरुआती अवस्थामै त्यसको सम्भावना पत्ता लगाउने प्रक्रिया हो। रोग प्रारम्भिक चरणमै पहिचान भए उपचार प्रभावकारी हुने र बिरामीको जीवन बचाउने सम्भावना उल्लेखनीय रूपमा बढ्ने उनी बताउँछिन्।
डा. महासेठका अनुसार पहिले मुख्य रूपमा चुरोट र मदिरा सेवन गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर देखिने गरे पनि अहिले धूलोधुँवा र वायु प्रदूषणको दीर्घ सम्पर्कमा रहने व्यक्तिहरू पनि उच्च जोखिममा छन्। यसबाहेक, आनुवंशिक कारण तथा नियमित शारीरिक व्यायाम नगर्ने व्यक्तिमा समेत फोक्सोको क्यान्सर हुने सम्भावना रहने उनको भनाइ छ।
फोक्सोको क्यान्सरका प्रारम्भिक लक्षणमा लगातार खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या हुनु, अत्यधिक थकान महसुस हुनु, शरीर कमजोर हुँदै जानु, तौल घट्नु तथा खकारसँग रगत आउनु प्रमुख हुन्। यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य परीक्षण गराउनुपर्ने उनी सुझाव दिन्छिन्।
उनका अनुसार पछिल्ला वर्षहरूमा महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सरका बिरामीको संख्या बढिरहेको छ। त्यसैले ४० वर्ष उमेर पार गरेका व्यक्तिले नियमित रूपमा छातीको एक्स–रे तथा खकार परीक्षण गराउनु उपयुक्त हुन्छ। यदि प्रारम्भिक परीक्षणमा कुनै असामान्यता देखिएमा थप पुष्टि गर्न सिटी स्क्यान गर्नुपर्ने डा. महासेठ बताउँछिन्।
फोक्सोको क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने धारणा पनि गलत रहेको उनको भनाइ छ। नेपालमै सर्जरी, किमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी तथा टार्गेटेड थेरापीलगायत आधुनिक उपचार सेवा उपलब्ध रहेको उनी बताउँछिन्। उनका अनुसार नेपालमा उपचारको लागत भारतको तुलनामा कम पर्ने भएकाले बिरामीले आवश्यक उपचार स्वदेशमै सहज रूपमा प्राप्त गर्न सक्छन्।
क्यान्सर उपचार सफल बनाउन औषधि मात्र पर्याप्त नहुने डा. महासेठको भनाइ छ। उनका अनुसार उपचारको सफलतामा बिरामीको मनोबल, परिवारको निरन्तर साथ र चिकित्सकमाथिको विश्वासले महत्वपूर्ण भूमिका खेल्छ। “बिरामीले क्यान्सरलाई जित्न सक्छु भन्ने आत्मविश्वास राख्नुपर्छ। परिवारले हरेक चरणमा साथ, माया र उचित खानपानमा सहयोग गर्नुपर्छ। साथै चिकित्सक र बिरामीबीच विश्वासको सम्बन्ध बलियो हुन आवश्यक छ,” उनले भनिन्।
डा. महासेठले फोक्सोको क्यान्सर मात्र होइन, सबै प्रकारका क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न, प्रदूषणबाट सकेसम्म जोगिन तथा समयमै स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गरेकी छन्। उनका अनुसार स्वास्थ्यप्रति सचेतना र नियमित जाँच नै क्यान्सर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।



