

काठमाडौं- स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्।
क्वेस्ट फर्मास्युटिकल्स प्रालिले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित रजत जयन्ती समारोहमा वक्ताहरूले नेपालमा औषधि उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै अब नीतिगत सुधारमार्फत यसको क्षमता अझ विस्तार गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद गणेश पराजुलीले करिब ८० अर्ब रुपैयाँको नेपाली औषधि बजारमध्ये ४०–४५ अर्ब रुपैयाँ बराबरको औषधि स्वदेशमै उत्पादन भइरहेको बताए। उनले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा स्वदेशी उद्योगहरूको भूमिका बढ्दो रहेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको बताए। उद्योग–व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई समेटेर सरकारसँग नियमित संवाद गर्ने संयुक्त संयन्त्र गठनको तयारी भइरहेको जानकारी उनले दिए।

समारोहमा क्वेस्ट फर्मास्युटिकल्सका कार्यकारी निर्देशक उमेशलाल श्रेष्ठले स्वदेशी औषधि उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन उद्योग प्रवर्द्धन, औषधिको मूल्य समायोजन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताए।
उनका अनुसार कम्पनीले भक्तपुरमा अत्याधुनिक ‘इनोभेसन सेन्टर’ स्थापना गरी हाल विदेशबाट आयात भइरहेका केही औषधि नेपालमै उत्पादन गर्ने तयारी गरिरहेको छ। यसबाट देशको औषधिमा आत्मनिर्भरता थप मजबुत हुने विश्वास कम्पनीको छ।
सन् १९९९ मा स्थापना भएको क्वेस्ट फर्मास्युटिकल्सले सन् २००१ देखि उत्पादन सुरु गरेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको कम्पनीले हाल १०० भन्दा बढी ब्रान्डेड जेनेरिक औषधि उत्पादन गर्दै वार्षिक ३० करोडभन्दा बढी युनिट औषधि बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार १५० भन्दा बढी वितरण साझेदारमार्फत देशभर करिब ३० लाख बिरामीसम्म सेवा पुगिरहेको छ भने नेपालको करिब पाँच प्रतिशत औषधि आवश्यकता क्वेस्टले पूरा गरिरहेको छ। कम्पनीमा हाल ६०० भन्दा बढी कर्मचारी कार्यरत छन्।
कार्यक्रममा कम्पनीका अध्यक्ष शंकरदास श्रेष्ठ, निर्देशकहरू पृथ्वी राजभण्डारी (निजु), शैलेन्द्र प्रसाद वर्मा, उत्तमकुमार श्रेष्ठ तथा एसोसिएट डाइरेक्टर आशीष श्रेष्ठले अनुसन्धान, नवप्रवर्तन, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियस्तरको गुणस्तरलाई केन्द्रमा राखेर स्वदेशी औषधि उद्योगलाई अझ प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे।


