

काठमाडौं- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन हुने भएको छ ।
अस्पताल प्रशासनले असार १५ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
अस्पतालले स्वास्थ्य बिमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ । जसअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ ।
शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोकेको थियो । शिक्षण अस्पतालले स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख गर्दै सेवा बन्द गरेको थियो । अस्पतालमा मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको थियो ।
त्यति बेला अस्पतालले ४० करोड बीम बापतको रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको थियो ।


