

काठमाडौं – कुनै समय वीर अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरूले रात बिताउन निकै सास्ती खेप्नुपर्थ्यो। विशेषगरी आइसियुमा भर्ना भएका बिरामीका आफन्तहरू बस्ने र सुत्ने उचित व्यवस्था नहुँदा भुइँमै रात कटाउन बाध्य हुने अवस्था थियो। तर अहिले भने अस्पतालमा उपलब्ध गराइएका कुरुवा पलङका कारण उनीहरूको समस्या केही हदसम्म समाधान भएको छ।
गत भदौमा लायन्स क्लब काठमाडौं ३२५ डी शाखा र दुर्गालक्ष्मी प्रतिष्ठानले वीर अस्पताललाई ४५ वटा कुरुवा पलङ सहयोग गरेपछि आइसियु बाहिर बस्ने बिरामीका आफन्तहरू भुइँमा सुत्नुपर्ने बाध्यताबाट मुक्त भएका हुन्।
हाल अस्पतालको आइसियु ए, सर्जिकल आइसियु तथा अन्य वार्ड आसपास नीलो रङका फलामे पलङहरू राखिएका छन्। ती पलङहरूमा आराम गर्न मिल्ने मात्र नभई पलङमुनि कुरुवाको सामान सुरक्षित राख्न सकिने व्यवस्था पनि गरिएको छ।
यी सामग्रीहरू वीर अस्पतालका तत्कालीन निर्देशक डा. दिलीप शर्माको कार्यकालमा लायन्स क्लब काठमाडौं र दुर्गालक्ष्मी प्रतिष्ठानका अध्यक्ष विनोद देवकोटा तथा उनकी पत्नी सङ्गीता धमलाको पहलमा उपलब्ध गराइएको हो। पलङसँगै अस्पताललाई एक थान टेलिभिजन, भुइँतलामा तीन वटा पानी फिल्टर, दुई वटा मोबाइल चार्जिङ स्टेसनलगायत करिब १५ लाख रुपैयाँ बराबरका सामग्री पनि हस्तान्तरण गरिएको थियो।
दुर्गालक्ष्मी प्रतिष्ठानका अध्यक्ष देवकोटाका अनुसार पत्नी सङ्गीता धमलाका पिता स्वर्गीय दुर्गाप्रसाद धमला उपचारका क्रममा वीर अस्पतालको आइसियुमा भर्ना भएका थिए। सोही क्रममा आफन्तहरूले भुइँमै बसेर र सुत्दै बिरामी कुर्नुपरेको अनुभवले उनीहरूलाई कुरुवाको समस्याबारे गम्भीर बनाएको थियो।
‘बुवालाई कुर्दा हामी आफैं भुइँमै सुत्न बाध्य भएका थियौं। त्यही अनुभवले अरूलाई यस्तो समस्या नहोस् भन्ने उद्देश्यले सहयोग गरेका हौं,’ देवकोटाले भने।
उनका अनुसार कुरुवाको सामान व्यवस्थित रूपमा राख्न सकिने गरी पलङमुनि बक्ससहितको संरचना तयार गरिएको छ। साथै अस्पतालको सर्जिकल भवनमा कुरुवाका लागि थप सहज र व्यवस्थित वातावरण बनाउन भविष्यमा आवश्यक व्यवस्थापन तथा जनशक्ति सहयोग गर्ने योजना पनि प्रतिष्ठानले बनाएको छ।
‘अस्पतालमा अझै धेरै सुधार आवश्यक छ। कुरुवाका लागि जति व्यवस्थित हुनुपर्ने हो, त्यति हुन सकेको छैन,’ देवकोटाले बताए।


