

काठमाडौं- देशका विभिन्न जिल्लामा रेबिज खोप अभावको गुनासो बढिरहेका बेला स्वास्थ्य सेवा विभागले हाल मौज्दात रहेको खोपले आगामी साउनसम्मको आवश्यकता धान्न सक्ने जनाएको छ।
विभागका अनुसार देशभर हाल ११ हजारभन्दा बढी भाइल रेबिज खोप मौज्दात रहेको छ भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा थप ४ हजार ५ सय भाइल खोप आगामी शनिबारसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार केन्द्र, प्रदेश, स्वास्थ्य कार्यालय र अस्पतालहरूमा गरी एआरभी तथा इम्युनोग्लोबिनसहित ११ हजारभन्दा बढी भाइल खोप उपलब्ध छ। दीर्घकालीन व्यवस्थापनका लागि ४ लाख २४ हजारभन्दा बढी भाइल रेबिज खोप खरिद प्रक्रिया पनि अगाडि बढाइएको विभागले जनाएको छ।
यता विभिन्न जिल्लामा खोप अभाव देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा खोप लगाउन आउने बिरामीको संख्या दैनिक ८ सय हाराहारी पुगेको छ।
स्वास्थ्य विज्ञहरूले रेबिज शतप्रतिशत ज्यान जान सक्ने रोग भएकाले कुकुर, बिरालो वा शंकास्पद जनावरले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन आग्रह गरेका छन्।


