

- डा. अनमोल कार्की (कन्सल्टेन्ट न्यूरोसाइकियाट्रिस्ट)
मानिसको मनभित्र चलिरहेको संघर्ष सधैं बाहिर देखिँदैन। कतिपय अवस्थामा एक व्यक्ति बाहिरबाट सामान्य देखिए पनि उसको मनभित्र यति ठूलो युद्ध चलिरहेको हुन्छ कि त्यसले जीवन र मृत्युबीचको दूरी समेत मेटाइदिन सक्छ। हालै उपचारका क्रममा भेटिएको एक युवकको घटनाले सिजोफ्रेनिया कति गम्भीर र खतरनाक हुन सक्छ भन्ने स्पष्ट देखाएको छ।
एक दिन अस्पतालमा नियमित कामकै क्रममा मनोचिकित्सा विभागमा ईएनटी विभागबाट आकस्मिक परामर्शको अनुरोध आयो। जानकारी अनुसार एक युवकले आफ्नै घाँटी काटेका थिए। शल्यचिकित्सकहरूको टोली उनको जीवन बचाउन प्रयासरत थियो। तर सबैको मनमा एउटै प्रश्न थियो– आखिर उनले यस्तो किन गरे ?
परिवारसँगको कुराकानीपछि उनको विगतको कथा विस्तारै खुल्दै गयो।
परिवारका अनुसार उनले किशोरावस्थादेखि नै कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेका थिए। २० वर्षको उमेरपछि भने गाँजाको सेवन सुरु गरे। सुरुमा सामान्य रूपमा सुरु भएको गाँजाको प्रयोग विस्तारै लतमा परिणत भयो। केही वर्षभित्र उनी दैनिक रूपमा गाँजा सेवन गर्ने अवस्थामा पुगे। दिनको पाँच–छ वटा गाँजाका स्टिक र ‘वाटर बङ’ मार्फत पटक–पटक गाँजा सेवन गर्नु उनको दिनचर्या बनेको थियो।
तर समस्या केवल लागू पदार्थको लतमा सीमित रहेन।
घटनाभन्दा केही महिना अघिदेखि उनको व्यवहारमा असामान्य परिवर्तन देखिन थाल्यो। उनी एक्लै बसेर बर्बराउने, कुनै कारणबिना मुस्कुराउने र मानिसहरूबाट टाढा रहने गर्न थाले। परिवारले सुरुमा यसलाई सामान्य परिवर्तन ठाने पनि विस्तारै अवस्था चिन्ताजनक बन्दै गयो।
उनलाई छिमेकीहरूले आफ्नो निगरानी गरिरहेका छन् भन्ने लाग्न थाल्यो। कसैले आफूलाई हानि पुर्याउने, परिवारमाथि आक्रमण गर्ने वा सम्पत्ति कब्जा गर्ने योजना बनाइरहेको विश्वास उनले गर्न थाले।
यसपछि उनी घरबाट बाहिर निस्कन नै छोडे। साथीभाइ र आफन्तसँगको सम्पर्क घट्दै गयो। सामाजिक जीवन लगभग समाप्त भयो।
यति मात्र होइन, उनी आफ्नो व्यक्तिगत सरसफाइप्रति पनि उदासीन बन्न थाले। नुहाउने, लुगा फेर्ने वा दैनिक कामकाजमा समेत अरूको सहयोग आवश्यक पर्न थाल्यो।
समय बित्दै जाँदा उनको मानसिक अवस्था अझ जटिल बन्दै गयो।
उनले अरू कसैले नसुन्ने आवाजहरू सुन्न थाले। कहिलेकाहीँ ती आवाजहरू आपसमा कुरा गर्थे। कहिलेकाहीँ उनीसँगै संवाद गर्थे। अझ खतरनाक कुरा, ती आवाजहरूले आदेश दिन थाले।
उनका लागि ती आवाजहरू काल्पनिक थिएनन्। ती वास्तविक थिए।
एकपटक ती आवाजहरूले उनलाई गाईको गोबर खान भने। उनले त्यसो नै गरे। परिवारले यो घटनापछि उनको अवस्था गम्भीर रहेको महसुस गर्न थाले पनि समस्या कति गहिरो थियो भन्ने अनुमान गर्न सकेन।
त्यसपछि आयो त्यो दिन, जसले उनको जीवन नै समाप्त पार्न सक्थ्यो।
एक दिन ती आवाजहरूले उनलाई भने, “यदि तिमीले आफ्नो घाँटी काट्यौ भने स्वर्ग पुग्छौ। त्यहाँ सधैं खुसी हुनेछौ।”
सामान्य व्यक्तिका लागि यस्तो कुरा असम्भव लाग्न सक्छ। तर मानसिक रोगको प्रभावमा रहेका उनका लागि त्यो एउटा निर्विवाद आदेश थियो। उनी हँसिया लिएर शौचालयभित्र पसे र आफ्नै घाँटी काटे।
धेरैबेरसम्म बाहिर ननिस्किएपछि परिवारले ढोका फुटाएर हेर्दा उनी रगतले लतपत अवस्थामा भुइँमा लडिरहेका थिए। तत्काल अस्पताल पुर्याइएपछि शल्यचिकित्सकहरूले उनको जीवन बचाउन सफल भए।

पछि गरिएको मनोचिकित्सकीय मूल्याङ्कनले उनी सिजोफ्रेनियाबाट पीडित रहेको संकेत गर्यो। लामो समयदेखि विकसित भएका शंकालु सोच, भ्रम, अरूले आफ्नो बारेमा कुरा गरिरहेको विश्वास, अदृश्य आवाजहरू सुन्ने अनुभव, ती आवाजका आदेश पालना गर्ने व्यवहार तथा आत्महेरचाहमा आएको कमीले सिजोफ्रेनियाको स्पष्ट चित्र प्रस्तुत गरिरहेको थियो।
सिजोफ्रेनिया यस्तो मानसिक रोग हो जसमा व्यक्तिले वास्तविकता र भ्रमबीचको अन्तर छुट्याउन सक्दैन। बिरामीले सुनेका आवाज, देखेका दृश्य वा विश्वास गरेका कुरा अरूका लागि वास्तविक नहुन सक्छन्, तर उनका लागि ती पूर्ण सत्य हुन्छन्।
यही कारणले कहिलेकाहीँ यस्तो रोगले व्यक्तिलाई आफ्नो वा अरूको ज्यान जोखिममा पार्ने निर्णयसम्म पुर्याउन सक्छ।
यो घटना केवल एक व्यक्तिको कथा होइन। यो समाजका लागि चेतावनी पनि हो। व्यवहारमा अचानक परिवर्तन, अत्यधिक शंका, एक्लोपन, अरूले नसुन्ने आवाज सुन्ने अनुभव वा असामान्य विश्वासजस्ता लक्षण देखिएमा त्यसलाई ‘बानी’ वा ‘चरित्र’को समस्या भनेर बेवास्ता गर्नु हुँदैन।
समयमै मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श र उपचार पाएमा सिजोफ्रेनियाका बिरामीले पनि सामान्य र गुणस्तरीय जीवन बाँच्न सक्छन्। तर उपचारमा ढिलाइ हुँदा भ्रम र आवाजहरूले व्यक्तिको सम्पूर्ण जीवन नियन्त्रण गर्न सक्छन्।
र कहिलेकाहीँ, ती आवाजहरूले मृत्युको ढोकासम्म पनि पुर्याउन सक्छन्।


