

काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले अघि सारेका मागप्रति कलेज व्यवस्थापनले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत भदौ ३१ गतेदेखि विभिन्न माग राख्दै आवासीय चिकित्सकहरू कामबाट विमुख भएको अवस्थामा समेत कलेज प्रशासनले उनीहरूका मागबारे कुनै सुनुवाइ नगरेको भन्दै सङ्घले आपत्ति जनाएको हो।
सङ्घका अनुसार कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू तनावपूर्ण अवस्थाका बाबजुद अहोरात्र सेवामा खटिनुपर्ने स्थिति रहेको छ। उनीहरूको ड्युटी आवर, तलब, भत्तालगायतका सुविधामा एकरूपता नरहेको र त्यसको वैज्ञानिक ढङ्गले व्यवस्थापनसमेत नगरिएको सङ्घले जनाएको छ।
आवासीय चिकित्सकमाथि अन्यायपूर्ण रूपमा अनावश्यक कारबाही गर्ने कामसमेत भएको भन्दै सङ्घले आपत्ति जनाएको छ। कलेज व्यवस्थापनसँग भएका छलफलमा पनि चिकित्सकहरूले अघि सारेका माग सम्बोधन नभएको सङ्घको भनाइ छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको प्रेस विज्ञप्तिमा आवासीय चिकित्सकहरूले उठाएका जायज माग तत्काल सम्बोधन गरी समस्या समाधान गर्न कलेज प्रशासनसँग आग्रह गरिएको छ।
सङ्घले मागहरूको उचित सम्बोधन नभएमा कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ।



