

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले खोटाङमा कार्यरत २३ वर्षीया अनमी अनिशा धामी डेराको कोठामा मृत अवस्थामा फेला परेको घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बझाङकी अनिशा धामी आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेको जानकारी दिए।
स्वास्थ्यकर्मीको रूपमा कार्यरत, स्वस्थ अवस्थामा कोठामा सुतेको व्यक्ति बिहान मृत फेला पर्नु सामान्य घटना नभएको भन्दै उनले यो घटना हत्या हुन सक्ने आशंका व्यक्त गरे। साथै, अन्य जघन्य आपराधिक गतिविधिको सम्भावना पनि हुन सक्ने दाबी गरे।
उनले घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे। दुर्गम क्षेत्रकी एक युवा स्वास्थ्यकर्मीको ज्यान गएको विषयमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
बैठकमा उनले भने, “हाम्रा प्रधानमन्त्री, गृहमन्त्रीहरू छुट्टी मनाएर बसिरहने, सामाजिक सञ्जालमा जिस्किरहने, उता एउटा दुर्गम ठाउँको एउटा महिला, गरिब परिवारको छोरी दिनदहाडै हत्या हुने अवस्था सिर्जना भएको छ।”


