

जनकपुर – आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी २ र ३ अक्टोबर २०२६ मा जनकपुरमा आयोजना हुने भएको छ। क्यान्सर उपचार तथा सचेतना सम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले विगत आठ वर्षदेखि निरन्तर रूपमा यो सम्मेलन आयोजना गर्दै आएको हो।
सम्मेलनको साइन्टिफिक कमिटीले क्यान्सर तथा रक्तरोग (अन्कोलोजी र हेमाटोलोजी) सम्बन्धी नवीन अनुसन्धान, क्लिनिकल अनुभव तथा उपचार क्षेत्रमा भएका प्रगतिबारे अनुसन्धानकर्ताहरूलाई अब्स्ट्र्याक्ट पेश गर्न आह्वान गरेको छ। चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूले मौलिक अनुसन्धान, गुणस्तर सुधार परियोजना, उपचार परिणामसम्बन्धी अध्ययन, शैक्षिक अनुसन्धान तथा दुर्लभ केस रिपोर्ट वा केस सिरिजसम्बन्धी अध्ययनहरू पेश गर्न सक्नेछन्।
आयोजक विनयताराका अनुसार उत्कृष्ट १५ वटा अब्स्ट्र्याक्ट छनोट गरी प्रत्येकलाई सम्मेलनमा सहभागी हुन सहयोगस्वरूप १५ हजार रुपैयाँका दरले यात्रा अनुदान प्रदान गरिनेछ। छनोट भएका अनुसन्धानकर्ताले सम्मेलनमा दर्ता गरी आफ्नो अध्ययन प्रस्तुत गर्नुपर्नेछ।
अब्स्ट्र्याक्ट पेश गर्ने अन्तिम मिति ७ अगस्ट २०२६ तोकिएको छ भने स्वीकृतिको जानकारी अन्तिम मितिपछि करिब दुई साताभित्र उपलब्ध गराइनेछ।
आयोजकले अब्स्ट्र्याक्ट अंग्रेजी भाषामा तयार गर्नुपर्ने व्यवस्था गरेको छ। शीर्षक, लेखक र संस्थागत विवरण बाहेक अधिकतम ३०० शब्दमा सीमित गर्नुपर्नेछ। मौलिक अनुसन्धानका लागि पृष्ठभूमि, विधि, नतिजा र निष्कर्ष अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ भने केस रिपोर्ट तथा केस सिरिजमा पृष्ठभूमि, केस छलफल र निष्कर्ष उल्लेख गर्नुपर्नेछ।
दुर्लभ तथा नयाँ प्रकारका केस रिपोर्टलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। पहिले रिपोर्ट नगरिएका वा अत्यन्त दुर्लभ क्लिनिकल अवस्था, नयाँ निदान वा उपचार विधि, असामान्य रोग प्रस्तुति वा उपचार प्रतिक्रियासम्बन्धी अध्ययनहरूलाई वैज्ञानिक समितिले प्राथमिकतामा राख्नेछ।
सबै अब्स्ट्र्याक्टहरू वैज्ञानिक समितिका सदस्यद्वारा पेयर रिभ्यु प्रक्रियामार्फत मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनका आधारमा वैज्ञानिक गुणस्तर, मौलिकता, क्लिनिकल सान्दर्भिकता, शैक्षिक महत्त्व र समग्र प्रस्तुतीकरणलाई ध्यान दिइनेछ।
स्वीकृत अध्ययनहरूलाई मौखिक प्रस्तुति वा पोस्टर प्रस्तुति माध्यमबाट सम्मेलनमा प्रस्तुत गर्ने अवसर दिइने आयोजकले जनाएको छ।
विनयतारा (पहिले बिनायतारा फाउन्डेसन) सन् २००७ मा क्यान्सर रोग विशेषज्ञ डा. विनय शाह र उनकी पत्नी तारा शाहद्वारा अमेरिकामा स्थापना गरिएको अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था हो। यसको उद्देश्य क्यान्सरसम्बन्धी स्वास्थ्य असमानता घटाउने, गुणस्तरीय उपचारमा पहुँच विस्तार गर्ने तथा विश्वव्यापी रूपमा अन्कोलोजी र हेमाटोलोजी क्षेत्रको शिक्षा, अनुसन्धान र सेवा सुधार गर्ने रहेको छ।


