

काठमाडौं- नेपाल औषधि थोक व्यवसायी संघले देशको औषधि आपूर्ति प्रणालीलाई दुई दशकभन्दा लामो समयदेखि निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्याएका १३ जना अग्रज औषधि थोक व्यवसायीलाई सामूहिक रूपमा सम्मान गरेको छ।
राजधानीमा आयोजित ‘औषधि बजारमा देखिएका समसामयिक चुनौती’ विषयक नीति संवाद तथा अग्रज व्यवसायी अभिनन्दन कार्यक्रममा उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरिएको हो।
कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंका कुमार प्रसाद भद्राज्यू, होनाथ वास्तोला, राजेशलाल श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, लक्ष्मी महर्जन, वीरेन्द्रलाल श्रेष्ठ, पद्मप्रसाद गौतम, बाबुराम पाण्डे तथा मनोजकुमार प्रधानलाई सम्मान गरेका थिए। त्यसैगरी बनेपाका सुनिलकुमार वैद्य, कास्कीका श्रीराम पराजुली र रुद्रनारायण मल्ल तथा भक्तपुरका विनोद कार्कीलाई पनि दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष गणेश नेपालले औषधि थोक व्यवसाय तथा आपूर्ति व्यवस्थालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन अग्रज व्यवसायीहरूले पुर्याएको योगदान अनुकरणीय रहेको बताए। उनले अग्रजहरूको सम्मान केवल औपचारिक कार्यक्रम नभई संस्थाको आत्मसम्मान र इतिहाससँग जोडिएको विषय भएको उल्लेख गरे।
नेपालले अग्रज व्यवसायीहरूको मेहनत, धैर्यता र दूरदर्शी सोचकै कारण आजको औषधि आपूर्ति संरचना निर्माण सम्भव भएको बताउँदै नयाँ पुस्ताले उनीहरूको अनुभवबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा औषधि बजारमा देखिएका समसामयिक चुनौती, आपूर्ति व्यवस्थापनमा देखिएका समस्या, नियामकीय जटिलता तथा व्यवसायिक वातावरण सुधारका विषयमा पनि विस्तृत नीति संवाद गरिएको थियो। नियामक निकाय, सरोकारवाला संस्था तथा व्यवसायिक प्रतिनिधिहरूको सहभागितामा भएको छलफलमा औषधि क्षेत्रका विद्यमान चुनौतीहरूको विश्लेषण गर्दै समाधानका सम्भावित उपायबारे विचार आदानप्रदान गरिएको संघले जनाएको छ।
संघका अनुसार यस्ता संवाद र सम्मान कार्यक्रमले औषधि व्यवसाय क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


