

काठमाडौं- अब निजामती कर्मचारीहरूले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले प्रदान गर्दै आएको स्वास्थ्य उपचार सेवा तथा सहुलियत प्राप्त गर्ने भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा क्रमशः प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुरूप प्रदेश अस्पतालहरूमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको हो।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशमै सेवा विस्तार गरिएको जानकारी दिइन्।
मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश अस्पतालहरूसँग सहकार्य सुरु गरिएको छ।
पहिलो चरणमा मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पताल र बागमती प्रदेशका लागि चितवनस्थित भरतपुर अस्पतालबाट सेवा प्रदान गरिनेछ। यी अस्पतालबाट निजामती कर्मचारीहरूले काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहित स्वास्थ्य सेवा पाउनेछन्।
आइतबार मन्त्रालयले दुवै अस्पतालसँग औपचारिक सम्झौता गरेको छ। सम्झौतापछि सोमबारदेखि नै सेवा सुरु हुने जनाइएको छ।
सेवा लिन निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
मन्त्रालयका अनुसार मधेस र बागमती प्रदेशबाहेक अन्य प्रदेशमा पनि सेवा विस्तारको तयारी भइरहेको छ। यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरणसमेत सम्पन्न भइसकेको छ।
आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा रहेकाले केही दिनभित्रै सबै प्रदेशका अस्पतालबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट, सहुलियत तथा स्वास्थ्य उपचार सेवा विस्तार गरिने मन्त्रालयले जनाएको छ।


