

कैलाली – कैलालीको उत्तरी पहाडी भूभागमा अवस्थित मोहन्याल गाउँपालिकामा खोप केन्द्र भवनको अभावले मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावित भएको छ। दुर्गम, छरिएको बस्ती र सीमित पूर्वाधारका कारण विकासका सूचकहरूमा पछाडि परेको यो पालिकामा स्वास्थ्य क्षेत्रको एउटा प्रमुख चुनौतीका रूपमा खोप केन्द्र भवन अभाव देखिएको हो।
२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मोहन्याल गाउँपालिकाको कुल जनसंख्या २१ हजार ८२ रहेको छ। यहाँ एक वर्षमुनिका बालबालिका ३५२, वार्षिक जीवित जन्म ३५६ तथा अनुमानित गर्भवती महिला ४२२ रहेको तथ्यांकले मातृ–शिशु स्वास्थ्य सेवाको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको देखाउँछ। तर स्वास्थ्य सुरक्षाको आधार मानिने खोप सेवा नै पर्याप्त भौतिक पूर्वाधारबिना सञ्चालन भइरहेका छन्।
गाउँपालिकाभित्र तीन स्वास्थ्य चौकी, पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्र, चार सामुदायिक स्वास्थ्य इकाइ, २८ गाउँघर क्लिनिक र २० खोप केन्द्र सञ्चालनमा छन्। कागजमा स्वास्थ्य संरचना पर्याप्त देखिए पनि वास्तविकतामा धेरै खोप केन्द्रहरू भवनविहीन अवस्थामा छन्, जसले सेवा प्रवाहलाई कमजोर बनाएको छ।
चोसेकाडा, दोभान, चिरकट्टे, बजेडी, चौतारा, सुगरखालडाँडा, खनियाताल, न्यौलाड, पाल्सा, सालघारी, तल्लो सोल्टा र ज्यामिरे लगायतका स्थानमा खोप केन्द्र भवन नहुँदा सेवा अस्थायी संरचनामा सञ्चालन भइरहेको छ। स्वास्थ्यकर्मीहरूले विद्यालय, सामुदायिक भवन, निजी घर वा कहिलेकाहीँ खुला स्थानमै खोप सेवा दिनुपर्ने बाध्यता छ।
प्रत्येक महिनाको ८ देखि १० गतेसम्म नियमित खोप कार्यक्रम सञ्चालन भए पनि सुरक्षित भवन नहुँदा सेवा प्रभावित हुने गरेको छ। घाम, पानी र चिसोबाट जोगिने उचित प्रतीक्षालय नहुँदा नवजात शिशु बोकेर आएका आमाहरू घण्टौँसम्म खुला वातावरणमै बस्न बाध्य हुने गरेको स्थानीयको भनाइ छ। वर्षायाममा त सेवा नै प्रभावित हुने अवस्था समेत देखिन्छ।
स्वास्थ्यकर्मीका अनुसार खोप केन्द्र भवन अभावले खोप सामग्री, अभिलेख तथा उपकरण सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि कठिनाइ भइरहेको छ। खोप कार्यक्रमका लागि आवश्यक सामग्री राख्ने छुट्टै कोठा, शौचालय तथा प्रतीक्षालयको अभावले सेवा गुणस्तरमा प्रत्यक्ष असर परेको छ।
मोहन्यालमा हाल ८० जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्, जसले दुर्गम बस्तीमा पुगेर खोप, पोषण, सरसफाइ तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेका छन्। तर उनीहरूको सक्रियता मात्र पर्याप्त नभएको स्वास्थ्यकर्मीहरू बताउँछन्, किनभने आधारभूत पूर्वाधार बिना सेवा प्रभावकारी बन्न सक्दैन।
स्वास्थ्य कार्यालयका अनुसार यहाँ डीपीटी–१ खोप कभरेज दर आर्थिक वर्ष २०८०–०८१ मा ६१ प्रतिशत मात्र रहेको छ, जुन राष्ट्रिय लक्ष्यभन्दा निकै कम हो। त्यस्तै खोप खेर जाने दर ३४ प्रतिशत पुगेको छ, जसले कार्यक्रम व्यवस्थापनमा थप चुनौती देखाएको छ।
खोप कार्यक्रमले दादुरा, पोलियो, क्षयरोग, डिप्थेरिया, टिटानस र कालीखोकीजस्ता घातक रोगबाट बालबालिकाको जीवन जोगाउने महत्वपूर्ण भूमिका खेल्ने भए पनि मोहन्यालमा पूर्वाधार अभावले यसको प्रभावकारिता कमजोर बनेको छ।
स्थानीय बासिन्दाले वर्षौंदेखि खोप केन्द्र भवन निर्माणको माग गर्दै आएका छन्। उनीहरूका अनुसार सडक, शिक्षा र स्वास्थ्य सबै क्षेत्रमा समस्या भए पनि खोप केन्द्र भवन निर्माणलाई प्राथमिकतामा राख्न सके मातृ–शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्छ।
स्वास्थ्य शाखाले पनि गाउँपालिका, प्रदेश र संघीय सरकारसमक्ष पटक–पटक बजेट माग गरे पनि पर्याप्त रकम सुनिश्चित हुन नसक्दा अधिकांश केन्द्र अस्थायी संरचनामै सञ्चालन भइरहेका छन्।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि मोहन्यालको वास्तविकताले नीति र व्यवहारबीचको दूरी अझै कायम रहेको देखाउँछ।
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले मोहन्यालजस्ता दुर्गम पालिकामा खोप केन्द्र भवन निर्माणलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार सुरक्षित भवन निर्माण भएमा खोप सेवा व्यवस्थित हुने मात्र होइन, मातृ–शिशु मृत्यु दर घटाउन र खोपबाट बच्न सकिने रोग नियन्त्रण गर्न पनि महत्वपूर्ण योगदान पुग्नेछ।


